सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रश्नपत्र

२०७७ असार २६, ०२:५४

कल्पना जोशी 

झरी पछिको काठमाडौं जस्तै देखिने
मुहार, सम्झाइदिनुपर्ने
स्वयम्भूको दुइ आँखाको भाव
चार भञ्ज्याङ्गको इतिहास 
जीवन र मृत्युलाई 
एकैसाथ जिस्काइरहने
बागमती पुलको रहस्यमय मुस्कान।

कम्मर खुकुलो भइसकेको
बच्चाको पाइजामा जस्तै 
हिँड्दै, माथि सार्दै, फेरि हिँड्दै गर्ने
प्रेमका पैतालाहरु 
कहाँ गएर चल्न
अल्छी मानिदिन्छन्?

प्रेमलाई कहिले 
गुराँस  हो पनि नस्विकार्नेहरु
बगरमा गुलाफ छोड्नुपहिले
मुटुको पोस्टमार्टम 
कुन डाक्टरबाट गराउँछन्?

सिमलको भुवा छोड्नुअघि,
सिमललाई नै छोएर फर्किँदा
बुर्काभित्रको संवेदनाले 
कसलाई सोध्नुपर्छ कि 
सिमल बन्न के– के गर्नुपर्छ?

जन्मेपछि के जन्मियो? 
मरेपछि को मर्यो ?  
बिचको मौन अवधिमा 
प्रश्नहरुले कहाँ  गएर
आत्महत्या गरिदिन्छन्? 

मुटुको उत्खनन गरिरहँदा 
भेटिएको कथा सङ्ग्रहलाई
 सुधार  केन्द्रसम्मको बाटो
देखाई मागेर सोध्नू
प्रेमले कहाँ–कहाँ असर गर्दछ?

थानकोट छोडेर सुदूर हुइकिएको
गाडी जस्तै यादहरु
तिमीहरूलाई त्रिशूलीमा खसालिदिए
छानबिन हुन्छ कि हुँदैन?

फाँसीपछि अख्तियारी गर्न आउने
ए प्रश्नपत्र !
मैले तिम्रो मर्यादाक्रमसहितको
 थप प्रश्न गर्न
मिल्छ कि मिल्दैन्? 

कमेन्ट लोड गर्नुस