सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर कर्णाली सिङ्गिङ एन्ड डान्सिङ स्टारको फाइनलमा २० जना प्रतिस्पर्धी

२०८३ भदौ २३, ०५:२६ खबर संवाददाता

धनगढीः सुदूर कर्णाली सिङ्गिङ एन्ड डान्सिङ स्टारको गायन तथा नृत्य प्रतियोगिता ग्राण्ड फिनालेमा पुगेको छ। विभिन्न चरण पार गर्दै उत्कृष्ट प्रदर्शन गरेका २० जना प्रतिस्पर्धी उपाधिका लागि अन्तिम चरणमा पुगेका छन्।

सुदूरपश्चिम तथा कर्णाली क्षेत्रका लुकेर रहेका गायन तथा नृत्य प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा गायनतर्फ १२ जना र नृत्यतर्फ आठ जना प्रतिस्पर्धी रहेका छन्।

गायनतर्फ लालिजन परियार, विकासराज सापकोटा, योगेश मिजार, महेश्वर थापा मगर, धर्मराज तिमिल्सिना, धर्मेन्द्र धामी, राजेन्द्र दयाल, सुन्दरनाथ योगी, प्रतीक्षा ओली, भगवती रावत, शिवकुमार विक र अमृतकुमार चन्द फाइनलमा पुगेका छन्।

गायनतर्फ नरेन्द्रराज रेग्मी र समीर परियार निर्णायक रहेका छन्।

नृत्यतर्फ उमेश परियार, हनिश मौनी, सपना चुडारा, रितु गिरी, सिर्जना विक, जनवरी रोकाया, रेश्मी ठगुन्ना र हुमान्शु बोहरा फाइनलमा पुगेका छन्। नृत्यतर्फ भवानी रेग्मी र जेम्स जोशी निर्णायक रहेका छन्।

प्रतियोगितामा प्रथमदेखि पाँचौँ स्थानसम्म आउने विजेतालाई नगद पुरस्कारसँगै अडियो तथा सङ्गीत भिडियो निर्माण, सम्झौता र अन्य अवसर प्रदान गरिने आयोजकले जनाएको छ।

प्रथम हुनेले दुई लाख रुपैयाँ नगद, चार लाख रुपैयाँ बराबरको अडियो तथा सङ्गीत भिडियो निर्माण, दुई वर्षे सम्झौता तथा थाइल्यान्ड, मलेसिया र सिङ्गापुर भ्रमणको अवसर पाउनेछन्।

द्वितीय हुनेले ७० हजार रुपैयाँ नगद, तीन लाख रुपैयाँ बराबरको अडियो तथा सङ्गीत भिडियो निर्माण र एक वर्षे सम्झौता पाउनेछन्। तृतीय हुनेले ३० हजार रुपैयाँ नगद, दुई लाख रुपैयाँ बराबरको अडियो तथा सङ्गीत भिडियो निर्माण र छ महिने सम्झौता पाउनेछन्।

चौथो हुनेले १३ हजार रुपैयाँ नगद तथा एक लाख रुपैयाँ बराबरको अडियो तथा सङ्गीत भिडियो निर्माणको अवसर पाउनेछन्। पाँचौँ हुनेले पाँच हजार रुपैयाँ नगद तथा ५० हजार रुपैयाँ बराबरको अडियो तथा सङ्गीत भिडियो निर्माणको अवसर पाउने आयोजकले जनाएको छ।

कार्यक्रमको निर्देशक मण्डलमा नवराज कालिकोटे रहेका छन्। कार्यक्रम निर्देशकमा सुदीप जोशी तथा निर्णायक सल्लाहकारमा सुशील रौचाल रहेका छन्। अतिथि निर्णायकका रूपमा समृद्धि भट्ट रहनेछिन् भने कार्यक्रम सञ्चालक अनिता धामी रहेकी छन्।

कार्यक्रमको छायाङ्कन निर्देशकमा निखिल आचार्य र देवेन्द्र पाण्डे रहेका छन्। ध्वनि व्यवस्थापनको जिम्मेवारी डीजे अशोकले सम्हाल्नेछन्।

कार्यक्रममा भियानेट इन्टरनेट साझेदार, इसेवा मतदान साझेदार, खबर एन्ड लाइभ सञ्चार साझेदार, एस्ट्रा कन्सल्टिङ ग्रुपको सहयोग तथा केटीएस स्मोकहाउस अमेरिका मुख्य साझेदारका रूपमा रहेका छन्। प्रतियोगिताकी निर्माता प्रमिला सिलवाल अमेरिका रहेकी छन्।

गायन र नृत्यतर्फका उत्कृष्ट प्रतिभा अन्तिम चरणमा पुगेपछि प्रतियोगिताको ग्राण्ड फिनालेमा उपाधिका लागि कडा प्रतिस्पर्धा हुने आयोजकको अपेक्षा छ। सुदूरपश्चिम र कर्णालीका विभिन्न ठाउँबाट आएका प्रतिभाले आफ्नो कला, संस्कृति तथा सिर्जनशीलता प्रस्तुत गर्दै अन्तिम प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताले स्थानीय प्रतिभालाई ठूलो मञ्च उपलब्ध गराउनुका साथै नेपाली सङ्गीत तथा नृत्य क्षेत्रमा नयाँ प्रतिभाको पहिचानमा योगदान पुग्ने आयोजकको दाबी छ।
 

कमेन्ट लोड गर्नुस