डडेल्धुराका लागि ह्युमानिटी फाउण्डेसनले खरिद गरेको पीसीआर मेसिन पठाइयो
धनगढी : डडेल्धुराका लागि ह्युमानिटी फाउण्डेसन नेपालले खरिद गरेको पीसीआर मेसिन ट्रक मार्फत ल्याउन लागिएको छ। फाउण्डेसनले सुदूरपश्चिम तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, बुद्धिजीवी लगायतका दाताहरुबाट संकलन गरिएको रकमले खरिद गरेको मेसिन लिएर काठमाडौँबाट ट्रक आईरहेको जनाएको छ।
ह्युमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायलले शुक्रबार साँझ मेसिन लिएर ट्रक काठमाडौँबाट हिडेकाले आज बेलुका सम्म सुदूरपश्चिम पुग्ने बताए। उनले पीसीआर मेसिन खरिदमा फाउन्डेसनले अगुवाई गरेपनि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले सहजीकरण एवंम समन्वय गरेको जानकारी दिए।
उनका अनुसार उक्त पीसीआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिनेछ। अस्पतालले नै मेसिनको जडान तथा सञ्चालन गर्नेछ। यसैबीच डडेल्धुरा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिशचन्द्र विष्टले ह्युमिनिटी फाउन्डेसनले हस्तान्तरण गर्ने पीसीआर मेसिन जडान गरी कोरोना परीक्षण गर्ने तयारी थालिएको जानकारी दिए।
विष्टले तत्कालका अस्पतालमा भएको संचरनामै सञ्चालनमा ल्याउने तयारी भईरहेकाले डडेल्धुरा पुगेको एक हप्ता भित्र मेसिन जडानको काम सकेर परीक्षण थालिने बताए। उनले अहिले अस्पतालमा उपलब्ध जनशक्तिबाट प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन गरिने भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग थप जनशक्ति माग गरिएको बताए।