आलु उत्पादनमा फड्को मार्दै डडेल्धुरा
टेकराज अवस्थी, डडेल्धुरा: तरकारी उत्पादनमा सुदूरपश्चिमको पहाडि जिल्लाहरुमा अग्रणी मानिने डडेल्धुरा अहिले आलु उत्पादनमा आत्मनिर्भर हुनुका साथै आलु खेतीबाट किसानहरुले मनग्गे आम्दानी गर्न थालेका छन्।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका –१ रुवाखोलाका प्रसाद अवस्थीले करिब ३ सय रोपनीमा आलु रोपेर छ सय बढी क्विन्टल आलु उत्पादन गरि लकडाउनको बेला सुदूरपश्चिमका नौ वटै जिल्लामा आपुर्ति गरिरहेका छन्।
उनले भागेश्वर कृषि तथा पशुपालन फर्म दर्तागरी करिब १ करोड २० लाख लगानीमा वर्षौंदेखि बाँझो रहेको खेतीयोग्य जग्गा भाडामा लिई आलु खेती त गरेका छन् नै साथै गाउँका ६० जना स्थानीयलाई रोजगारी दिनपनि उनी सफल भएका छन्।
अहिले प्रसादको बारीमा ५०/६० जनाले प्रत्यक्ष रोजगारी पाएका छन भने बिदेशिएका युवाहरुपनि आलु खेती गरेर घरआँगनमै मनग्गे आयआर्जन गरिरहेको स्थानीय कृषि व्यवसायी प्रसाद अवस्थीले बताए। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मथलो समेत रहेको रुवाखोलाको सिरानदेखि १० किलोमिटर सम्मका गहुँ/धान लगाउने आकर्षक फाँटहरु आजभोली लसुन, फर्सी, काँक्रो लगायत विभिन्न तरकारी र आलुमय भएका छन्।
खोलाको प्रशस्त पानीलाई सदुपयोगगरी कुलो सिंचाईद्वारा आलु खेती गरिरहेका किसानहरुले आलु खेतीलाई पहिलो प्रथमिकता दिदै गहुँ र धान खेतीको सट्टा तरकारी खेतीमा बढी जोड दिएका हुन। आलु उत्पादनका लागि योग्य जग्गा भएकाले प्रसादको मागलाई आफुहरुले पनि सहयोग गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आलु सुपरजोन परियोजना कार्यान्वयन इकाई डडेल्धुराका प्रमुख खेमराज जोशीले बताए। ‘आलुलाई डडेल्धुराको नमूना वाली बनाउँदै जतिसक्दो उत्पादन र प्रबद्र्धन गर्नसके जिल्लाको कृषि विकासमा ठूलो टेवा पुग्ने छ’ उनले भने।
कृषि बिज्ञ प्रमुख जोशीका अनुसार डडेल्धुरा जिल्लामा मात्रै एक मौसममा दश हजार मेट्रिक टन भन्दाबढि खायन आलु उत्पादन हुने गरेको छ। ‘आलु खेतीको लागि माग बढदो छ। बिस्तार गर्ने कार्य पनि भईरहेको छ। आवश्यक परामर्शदेखि आलुखेतीका लागि यान्त्रिकरण सहुलियत जस्ता बिबिध संभाबित सहयोगहरु हामी पनि जुटाईरहेका छौं’ उनले भने, ‘किसानहरुको मनोबल उच्च रहेको छ, उहाँहरुको परिश्रम र उद्यमलाई निरन्तरता दिन स्थानीय सरकारहरु बढि सचेत र सक्रिय हुनुपर्ने देखिन्छ।’
गन्यापधुरा गाउँपालिकाको आलु उत्पादित क्षेत्रमा स्थानीय सरकार पनि सक्रिय देखिएको छ। व्यवसायिक कृषकलाई आवश्यक सहयोग गर्ने लक्ष्य लिएको गन्यापधुराले ठूलीखाली, रुवाखोलाका लकतडा, बल्तडीमा पनि सहकार्य र सहयोग बढाएको गाउँपालिका अध्यक्ष नबलबहादुर मल्लले जानकारी दिए। ‘आलु उत्पादनमा क्रियाशिल रहेका किसानहरुले धेरै राम्रो प्रयास गरेका छन, उहाँहरुको अदम्य साहसको म प्रसंसा पनि गर्दछु’ उनले भने, ‘कतै बाँझो जग्गालाई उपयोग गर्नु भएको छ भने ठूलो धनराशी आफ्नो तर्फबाट लगानी गरेर जोखिम उठाउनु भएको छ। यो यस स्थानीय तहका लागि गौरबको विषय पनि हो। लगानीका लागि धेर्यता चाहिन्छ, हामी पनि अध्ययन गर्दैछौं र सहयोग पनि गर्ने छाै।'
तरकारी उत्पादनका लागि डडेल्धुराको रुवाखोला, सकायल क्षेत्र, भेटा धौलाकोट, ठूल्खाली, तडिबाटा, डोटी घटाल क्षेत्र, अमरगढी नगरपालिका –७ पोखरा, ९ को ढाँटगाउँ, वडा नम्बर १ को मालम, वडा नम्बर ११ को फिन्नेकोट, नवदुर्गा गाउँपालिकाको असुर्पा, डाँडावन क्षेत्र, भागेश्वर गाउँपालिकाको बगरकोट चुल्लसिराड, आलिताल गाउँपालिकाको साबिक गाङखेत अन्र्तगतको चप्परचौडी र हर्तोला, काफली नेटाखान महाभारत क्षेत्र प्रसिद्ध हुन।
डडेल्धुरामा उत्पादित आलुलाई भण्डारण तथा व्यवस्थापन गर्न शितभण्डार पनि निर्माण भएको छ। गुणस्तरिय आलु बीउको लागि नर्सरी स्वरुप स्क्रिनहाउस पनि निर्माण भएको छ। जसबाट किसानहरुले सहज तरिकाबाट बीउ उपलब्ध गर्छन्। १४ हजार मेट्रिक टन क्षमता भएको भण्डारण गृहमा जम्मा गरेर आवश्यक समयमा उचित मूल्य पाउनेगरी बिक्रि गरेर नियमित आयआर्जन गर्ने अवसर पनि पाएकाले डडेल्धुरा आलुमा आत्मनिर्भरताको बाटोमा अग्रसर भएको हो।