जलवायु परिवर्तनसँगै डडेल्धुराका किसान थोपा सिँचाइतर्फ
डडेल्धुरा: पानीका स्रोत सुक्दै जानु, सिँचाइको अभाव र उत्पादन लागत बढ्दै गएपछि डडेल्धुराका व्यावसायिक किसान आधुनिक सिँचाइ प्रविधितर्फ आकर्षित हुन थालेका छन्। जिल्लामा विशेषगरी थोपा सिँचाइ प्रविधिको प्रयोग बढ्दै गएको छ।
कम पानीमा बिरुवाको जरासम्म आवश्यक मात्रामा पानी पुर्याउने भएकाले व्यावसायिक किसानले थोपा सिँचाइलाई प्राथमिकता दिन थालेका हुन्। परम्परागत सिँचाइको तुलनामा पानी, श्रम र समयको बचत हुने भएकाले तरकारी तथा आलु खेतीमा यसको प्रयोग बढिरहेको कृषि प्राविधिकहरू बताउँछन्।
अमरगढी नगरपालिका–१ डोलाका किसान पदमबहादुर ऐर व्यावसायिक रूपमा बिउ आलु उत्पादन गर्दै आएका छन्। यस वर्ष उनले ७ सय ४० क्विन्टल बिउ आलु उत्पादन गरेका छन्। कृषि ज्ञान केन्द्र र आलु सुपरजोन कार्यक्रमबाट सहयोग पाउँदै आएका ऐरले आगामी दिनमा उत्पादनलाई थप प्रभावकारी बनाउन थोपा सिँचाइ प्रविधि विस्तार गर्ने तयारी गरेका छन्।
अमरगढीका अर्का किसान प्रिन्सराज अवस्थी पनि ठूलो परिमाणमा आलु खेती गर्दै आएका छन्। उनले कृषि ज्ञान केन्द्रमार्फत सञ्चालित चक्लाबन्दीमा आलु र उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत चार लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन्। आधुनिक प्रविधिको प्रयोगमार्फत उत्पादन र उत्पादकत्व बढाउने लक्ष्यसहित उनी व्यावसायिक खेतीमा सक्रिय छन्।
अमरगढी नगरपालिका–९ का कमलसिंह झुकाल शिक्षण पेसाबाट अवकाश लिएपछि पूर्णकालीन रूपमा कृषिमा लागेका छन्। उनले कृषि ज्ञान केन्द्रको सहयोगमा मल्चिङ र थोपा सिँचाइ प्रविधि प्रयोग गर्दै आएका छन्। उनका अनुसार सुरुमा लागत केही बढी भए पनि व्यावसायिक खेतीका लागि थोपा सिँचाइ प्रभावकारी प्रविधि हो।
गन्यापधुरा गाउँपालिका–१ धौलाकोटका किसान खेमराज अवस्थीले पनि निकट भविष्यमा थोपा सिँचाइ प्रविधि प्रयोग गर्ने तयारी गरेका छन्। पानीको उपलब्धता घट्दै गएको अवस्थामा आधुनिक सिँचाइ प्रणालीले खेतीलाई थप दिगो बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
अमरगढी नगरपालिका–१ तडिबाटाका प्रकाशबहादुर ऐर भने थोपा सिँचाइ प्रयोग गरिरहेका किसान हुन्। शिक्षण पेसाबाट अवकाश लिएपछि व्यावसायिक कृषिमा लागेका उनले तरकारी तथा अन्य बालीमा आधुनिक प्रविधिको प्रयोग गर्दै आएका छन्। थोपा सिँचाइबाट पानीसँगै मल व्यवस्थापन गर्न सहज हुनुका साथै गोडमेल र सिँचाइमा समेत सहजता भएको उनको अनुभव छ।
अमरगढी नगरपालिका–१ का किसान धर्म भट्टले पनि बन्दा, काउली, भान्टा र खुर्सानीलगायत तरकारीमा थोपा सिँचाइ प्रयोग गरिरहेका छन्। कृषि प्राविधिकका अनुसार जिल्लाका कतिपय व्यावसायिक किसानले मल्चिङसँगै थोपा सिँचाइ प्रविधि अपनाउन थालेका छन्।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डडेल्धुराका प्रमुख पीताम्बर बस्नेतका अनुसार किसान उद्यमशीलता कार्यक्रमअन्तर्गत प्लास्टिक घरभित्र थोपा सिँचाइ प्रणाली जडानका लागि किसानलाई सहयोग गर्दै आइएको छ। कार्यक्रममार्फत व्यावसायिक तरकारी खेती गर्ने किसानलाई आधुनिक सिँचाइ प्रविधि प्रयोग गर्न प्रोत्साहन गरिएको छ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुका अनुसार जिल्लामा आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत उन्नत जातको बिउमा अनुदान, कृषि यान्त्रिकीकरण, साना सिँचाइ आयोजना तथा बिउ आलु भण्डारणका लागि कोल्ड स्टोरमा समेत सहयोग उपलब्ध गराइँदै आएको छ।
बेमौसमी तरकारी खेतीमा थोपा सिँचाइको प्रयोग बढ्दै गएको पनेरुले बताए। उनका अनुसार जलवायु परिवर्तनका कारण पानीका स्रोत घट्दै गएका क्षेत्रमा कम पानीमा बढी उत्पादन लिन सकिने भएकाले थोपा सिँचाइ प्रविधिलाई प्राथमिकताका साथ प्रवद्र्धन गरिएको छ।
गत आर्थिक वर्षमा टनेलभित्र र बाहिर थोपा सिँचाइ प्रणाली जडानका लागि १० जना किसानलाई अनुदान दिइएको कृषि ज्ञान केन्द्रले जनाएको छ। हाल जिल्लाभर व्यावसायिक रूपमा कृषि गरिरहेका करिब एक सय किसानले थोपा सिँचाइ प्रविधि अपनाइसकेका छन्।
डडेल्धुरामा हाल १ हजार १ सय २२ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ। पछिल्ला वर्षमा बिउ आलु उत्पादनमा जिल्लाले पहिचान बनाउँदै गएको अवस्थामा आधुनिक सिँचाइ, कृषि यान्त्रिकीकरण र उन्नत प्रविधिको प्रयोग बढ्दै गएको छ। पानीको स्रोत घट्दै गएको अवस्थामा थोपा सिँचाइले पानीको सदुपयोगसँगै उत्पादन र किसानको आम्दानी बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।