सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा क्वारेन्टिनमा बसेका नागरिकलाई दैनिक योगाभ्यास

२०७७ असार १, ०२:१३ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा क्वारेन्टिनमा बसेका नागरिकहरुलाई दैनिक योगाभ्यास सिकाउन थालिएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय डडेल्धुराको सहयोग र स्थानीय सरकारको सहकार्यमा दैनिक योगाभ्यास सिकाउन थालिएको हो।

सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण गर्न किट अभाव भएकाले क्वारेन्टिनबाट परीक्षणबिनै घर पठाइने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको समयमा योगाभ्यासले कोरोना संक्रमणबाट बच्ने विश्वास लिइएको छ।

कोरोना भाइरस (कोभिड–१९)ले विश्वभर त्रास बढिरहेका बेला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुराले योगाभ्यास सिकाउन थालेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुराका प्रमुख निशान्त शर्माले जानकारी दिए।

जिल्लामा रहेका क्वारेन्टिनमा बसेकाहरुलाई योगाअभ्यास गराउँदै आएको प्रमुख शर्माको भनाइ छ। क्वारेन्टाइनमा रहेकाकाको स्वास्थ्य अवस्था बलियो बनाउन योग अभ्यास सुरु गरिएको उनले बताए।

‘योग अभ्यास गर्नुका साथै आयुर्वेदीक पद्दती, रोग प्रतिरोधात्मक जडिबुटी औषधिको बारेमा जानकारी दिन थालिएको छ’ उनले भने, ‘दैनिक जीवनका लागि  योगा गर्दा रोगसँग लड्ने सक्ने प्रतिरोधात्मक शक्तिको बृद्धि हुनुका साथै स्थानीय जडिबुटीलाई प्रयोग गर्दा र योगा गर्दा कोरोनालाई जित्न सकिन्छ।’

योगाका विभिन्न चरण, आशन, अभ्यास, प्राणायामका बारेमा युवाको जागरुक सिकाइले सुरुवातका दिनमै केही सकारात्मक प्रभाव देखिएको प्रशिक्षण दिइरहेका डा. सत्यराज जोशीले बताए। 

‘योगा गर्नुका धेरै फाइदा छन्। पहिलो कुरा स्वस्थ भइन्छ। त्यसपछि विहानको समय सदुपयोगसँगै पहिलेदेखि नै रोगसँग लड्ने क्षमता कमजोर भएकालाई योगका फाइदैफाइदा छन्’ डा.जोशीले भने, ‘विश्वभर अहिलेसम्म कोरोना उपचारको औषधि नबनेको अवस्थामा यसको उत्तम औषधि नै योगा र लकडाउन पालना हो।’

योगाभ्यासलाई निरन्तरता दिने अमरगढी नगरपालिका –३ का वडाअध्यक्ष गोविन्द बोहराले जानकारी दिए। बिहानको योगाभ्यासले शारीरिक एवं मानसिक उर्जा दिने, निरन्तरको योगाभ्यासले भाइरस संक्रमणको प्रतिरोधात्मक क्षमता बढाउने अध्यक्ष बोहराको भनाइ छ। 

प्रदेशमा एक मात्र प्रयोगशाला रहेको र उक्त प्रयोगशालामा दैनिक २ सय ५० जनाको मात्रै पिसिआर परीक्षण गर्न सकिने भएकोले क्वारेन्टाइनमा बसेकाको परीक्षण बिनै घर पठाउनु पर्ने भएकोले उनीहरुलाई क्वारेन्टाइनमा नै योगाअभ्यास गराएर रोगसँग लड्न सक्ने क्षमताको विकास गराउन योगाअभ्यास गराइरहेको अध्यक्ष बोहराले बताए।

मानसिक एवं शारीरिक तनाव कम हुँदै गएको योगाभ्यासका सहभागीको पनि अनुभव छ। बिहान योगाअभ्यान गर्दा मानिसक तथा शारीरिक रुपमा निकै फाइदा पुगेको क्वारेन्टाइनमा बसेकाहरु बताउँछन्।
 

कमेन्ट लोड गर्नुस