पूर्व प्रधानमन्त्री देउवाले पठाए गृहजिल्लाका स्थानीय तहलाई राहत
डडेल्धुरा : पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराका स्थानीय तहका लागि राहत सामग्री पठाएका छन्। स्थानीय तहमा रहेका गरिब निमुखाका लागि खाद्यान्न अभाव भएको भन्दै उनले १ सय ४० क्विन्टल चामल सहितको खाद्यान्न राहत स्वरुप पठाएका हुन।
सभापति देउवाले जिल्ला समन्वयमार्फत स्थानीय तहलाई हस्तान्तरण गर्नेगरी १ सय ४० क्विन्टल चामल, सात क्विन्टल मसुरको दाल, साढे तीन क्विन्टल केराउ दाल, साढे तीन क्विन्टल चना, करिव दुई क्विन्टल सफेत मटरका साथै चिनी, नुन, चियापत्ती र तेल पठाएका हुन।
पूर्व प्रधानमन्त्री देउवाले जिल्लाका प्रत्येक स्थानीय तहलाई २० क्विन्टल चामलसहित दुई सय केजी दाल, पाँच पेटी तेल, २८ किलो नुनका साथै चिनी, चियापत्ती, चना जस्ता खाद्य सामग्री पठाएको जिल्ला समन्वय समिति डडेल्धुराले जनाएको छ।
राहत वितरण गर्नुपर्ने समय अब आईरहेको र कतिपय स्थानीय तहका सर्वसधारणलाई खाद्य सामग्रीको आवश्यकता परिरहदा देउवाले पठाएको राहतले ठुलो टेवा पुग्ने जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्ट जनाएका छन्।
गृह जिल्लाप्रति चिन्तित रहेका देउवाले उक्त खाद्य, सामग्री भारत तथा बाह्य मुलुकबाट जिल्ला फर्कि क्वारेन्टाइनमा बसेका र लकडाउनका कारण दैनिक ज्याला मजदुरीगरी खानेहरुलाई वितरण गर्नेगरी सहयोग गरेको जनाएका छन्।
शुक्रवार नै अनौपचारिक कार्यक्रम गरी जिल्लाका सात वटै स्थानीय प्रमुख तथा प्रतिनिधीलाई बोलाएर उक्त सामग्री हस्तान्तरण गरिएको छ। उक्त सामग्री स्थानीय तहले आवश्यकताका आधारमा सर्वसाधारण तथा पिडितलाई वितरण गर्ने जनाएका छन्।
कोरोना माहामारी बढिरहेको वेला राहतको आवश्यकता अनुसार दोस्रो चरणमा पनि पठाउने सबै स्थानीय तहलाई सामग्री पठाइने जनाइएको छ। साथै सुदूरपश्चिमका अन्य जिल्लामा समेत पूर्वप्रधानमन्त्री देउवाले खाद्यन्न राहात पठाई रहेका नेपाली काग्रेंसले जनाएको छ।