सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा आइसोलेनसमा राखेर उपचार गर्नुपर्ने हेपाटाइटिसका बिरामी क्वारेन्टाइनमा

भारतबाट आएकालाई सदरमुकाम मार्तडीबाट बाजुराको उत्तरी क्षेत्रमा रहेका स्थानीय तहमा लगिदै
भारतबाट आएकालाई सदरमुकाम मार्तडीबाट बाजुराको उत्तरी क्षेत्रमा रहेका स्थानीय तहमा लगिदै
२०७७ जेठ २१, ०४:१३ प्रकाश सिंह

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका २ का १८ वर्षीय पुरुष जेठ १७ गते भारतबाट जिल्ला पुगे। उनी हेपाटाइटिसका बिरामी हुन। उनी बाजुरा पुगेबाट बुढीगंगाको चैतेपिपल सुर्योदय विद्यालयको क्वारेन्टाइनमा बसिरहेका छन्।

उनी बिरामी छन्, उनलाई आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने हो। तर जिल्ला अस्पतालमा आइसोलेसनको व्यवस्थापन नहुँदा क्वारेन्टाइनमा उपचार भइरहेको बुढीगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले बताए। अछामको बयलपाटा लग्न सक्ने अवस्था नभएको र मार्तडीमा आइसोलेसन व्यवस्थापन नहुँदा समस्या भएको उनले सुनाए।  

हेपाटाइटिस सरुवा रोग हो तर उनी बसेको क्वारेन्टाइमा ३७ जना भारतबाट आएका अन्य नागरिक पनि बसिरहेका छन्। जसमा एक गर्भवती र ९ जना बालबालिका समेत रहेका छन्। ‘एकातिर आफु बिरामी छु, अर्कोतिर हेपाटाइटिस अरुलाई पनि सर्ने डर छ’  संक्रमित बिरामीले भने, ‘खानेपानी धारा र शौचालय सबै सँगै प्रयोग गरिरहेका छौ, अरुलाई जोखिम छ।’ 

उनीमात्र होइनन् अन्य जटिल बिरामीहरुको समेत क्वारेन्टाइनमा उपचार भइरहेको छ। सदरमुकाम मार्तडीमा रहेको क्वारेन्टाइनमा केहि दिनअघि एक बालिकाको स्वास्थ्यकर्मीले क्वारेन्टाइनमै उपचार गरेका थिए।

जिल्लाका अन्य क्वारेन्टाइनमा पनि बिरामीहरु रहेको जिल्ला अस्पताल बाजुराका डाक्टर रोहित गिरीले जानकारी दिए। ‘मार्तडीमा १० बेडको आइसोलेसन छ। त्यहाँ एकजना पोजेटिभ र एकजना नेगेटिभ रहेका छन्’ उनले भने, ‘क्वारेनटाइनमा सबै भारतबाट आएका छन्, उहाँहरु बिरामी भए वा अन्य सम्भावित बिरामीलाई ल्याएर आइसोलेसनमा राखेर उपचार गर्न नसकिने भएकाले समस्या आएको छ।’ एउटा सम्भावित बिरामी र अर्को संक्रमित राख्ने छुट्टा छुट्टै आइसोलेसन हुनुपर्ने गिरीले बताए।  

छुट्टै आइसोलेसनको व्यव्स्थापन नहँुदा जिल्ला अस्पतालको आइसोलेसनमा कोरोना पोजेटिभ र नेगेटिभको शौचालय एउटै रहेको छ। आइसोलेसनमा राखिएकाहरुका लागि छुट्टै शौचालयको व्यवस्था नभएकाले बाध्य भएर एउटै प्रयोग गर्नुपरेको आइसोलेसनमा राखिएका पुरुषले बताए। 

यसबारे अस्पतालका प्रमुख तथा कोरोना संक्रमितको उपचारमा खटिएका डा. रुपचन्द्र विश्वकर्मा भन्छन्, ‘पहिलो रिपोर्ट नआउँदासम्म सबै सँगै थिए। पछि रिपोर्ट आउँदा कोरोना पोजेटिभ आमा  र कोरोना नेगेटिभ बुवालाई फरकफरक बेडमा राखेको भएपनि शौचालय भने एउटै रहेको छ। आज दुवैको स्वाब संकलन गरेर पठाउने र दुबवैलाई फरक फरक शौचालयको व्यवस्थापन गरिने छ।’

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस