कैलालीमा लागुऔषधसहित ९ जना युवक पक्राउ
धनगढीः कैलालीमा लागुऔषधसहित ९ जना युवक पक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
धनगढी उपमहानगरपालिका–३ ब्यरेल नजिकबाट मिलन चोकका २४ वर्षीय सरोज चौधरी ५ ग्राम २९० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन्। चौधरीलाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको हो।
यस्तै कैलारी गाउँपालिका–७ कटानी पुल नजिकबाट कैलारी गाउँपालिका–२ का २० वर्षीय अविनाश चौधरी र २० वर्षकै दिनेश चौधरीलाई ४१० मिलिग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका–८ बुद्धचोकका २४ वर्षीय सुमित घिमिरे पनि १ ग्राम ७५० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन्।
धनगढी–२ पुरानो भन्सार नजिकबाट धनगढी–१३ का ३८ वर्षीय दिपक भट्ट ओनरेक्स नामक १५ बोतल लागूऔषधसहित पक्राउ परेका छन्। भट्टलाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यस्तै धनगढी उपमहानगरपालिका–७ देवरियाका २३ वर्षीय दिपलाल रानासहित ४ जनालाई ११० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।