डडेल्धुराको रिसोर्टमा युवती मृत्यु प्रकरणः दोषिलाई कारबाही गर्न महिला संघको माग
धनगढी : नेपाल महिला संघ डडेल्धुराले रातो गुँरास रिसोर्टमा मृत अवस्थामा फेला परेकी युवतीको घटना बारे सत्यतथ्य छानविन गर्न माग गरेको छ। रिसोर्टमा निर्मला बोहराको रहस्यमय मृत्यु भएको भन्दै बिहिबार महिला संघले दोषिलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो।
महिला संघकी अध्यक्ष कमला बिष्टद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा घटनाबारे आफुहरुको ध्यानाकर्षण भएको र लकडाउनका बेला यस्ता घटना घट्नु भनेको महिलामाथि हिसां भएको उल्लेख छ। ‘डडेल्धरा जिल्लाको सदरमुकाममा अवस्थित रातो गुँरास रिसोर्टमा अमरगढी नगरपालिका वार्ड न ७ अन्दाजी २१ वर्षकी निर्मला बोहराको रहस्यमय मृत्यु को घटना प्रति नेपाल महिला संघ डडेल्धुराको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त संकास्पद घटनाबाट एउटा महिलाको निर्मम भएर हिडडुल र कारोवार गर्ने व्यत्तिगत स्वतन्त्रता माथि त गम्भीर प्रश्न उठाएको छ नै साथै वर्तमान आधुनिक समाजमा पनि महिला हिसांका घटनामा न्यूनिकरण हुन नसकेको सामाजिक चुनौतिलाई पनि उजागर गराएको छ।’ ज्ञापनपत्रमा उल्लेख छ।
त्यस्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशभर सरकारले लकडाउन घोषणा गरेको परिस्थितिमा लकडाउन उल्लघंन हुनु र जिल्लाका विभिन्न स्थानमा मदिराजन्य पदार्थको विक्रि बितरण एवं सेवनका घटनाहरु बढेका भन्दै महिलासंघले आपत्ति जनाउँदै ज्ञापनपत्रमा अगाडि भनिएको छ ‘यो बिषम परिस्थतिमा राज्यले घोषणा गरेको लकडाउनलाई पूर्ण पालना गराउन र अनाधिकृत रुपमा बढ्दै गएको मदिरा समस्याका सम्बन्धमा पूर्ण समवेदनशील हुनु हामी जिल्ला प्रशासन कार्यालय डडेल्धुराको ध्यानानकर्षण गराउन चहान्छौँ।’
साथै निर्मला मृत्यु प्रकरणमा घटनाको सत्य तथ्य छानविन गरि दोषिलाई यथासिघ्र कानुनी दायरामा ल्याउन माग गरिएको छ। ‘घटनाको सत्य तथ्य छानविन गरि चाडो कानुनको कठघेरामा उभ्याई महिला अधिकारको प्रत्याभूति गराउन र समाजमा महिला हिंसाका घटना न्यूनिकरण गर्नका लागि अविलम्व अग्रसरता लिई आम जनमानसलाई आस्वस्त तुल्याउन हामी जिल्ला प्रसासन कार्यालय डडेल्धुरा समक्ष जोडदार माग गर्दछौँ’ ज्ञापनपत्रको अन्तिममा उल्लेख छ।
बुधबार विहान अमरगढी –७ मा रहेको रातो गुराँस रिसोर्टमा बोहोरा मृत अवस्था फेला परेकी थिइन। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बोहोरोको हत्या वा आत्महत्या हो भन्नेबारे अनुसन्धान जारी रहेको बताएका छन्। उनका अनुसार शवको पोष्टमार्टम रिपोर्टपछि मात्रै घटनामो रहस्य खुल्ने छ।