लकडाउनमा धनगढीका विपन्नलाई नेविसंघको साथ
धनगढी : कोरोना रोकथामक लागि जारी लकडाउनमा नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्वर ५ ले विपन्नलाई सहयोग गरेको छ।
सुत्केरी तथा गर्भवतीहरूलाई पोषणयुक्त खानाको अभाव हुन नदिन नेविसंघ क्षेत्र नम्वर ५ ले सुरक्षित मातृत्व सञ्जालसँग समन्वय गरेर ’आमा बचाउ, मानवता जगाउ’ अभियान सुरु गर्दै विपन्नलाई सहयोग गरेको हो।
धनगढी उपमहानगरपालिकाका १९ ओटै वडामा ’आमा बचाउ, मानवता जगाउ’ अभियान चलाईएको नेपाल विद्यार्थी संघ क्षेत्र नम्वर ५ का अध्यक्ष गजेन्द्र शाहीले बताए।
यो अभियान अन्तर्गत दुई सय ५७ जना सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त खाना उपलब्ध गराईएको उनले बताए।
‘पोषणयुक्त खाना अन्तर्गत परिवार हेरेर २० देखि २५ किलो चामल, एक लिटर खाने तेल, एक क्यारेट अण्डा, नुन र चिनी एक÷एक किलो, दाल दुई किलो, आलु पाँच किलो, डिटोल साबुन दुई थान र मास्क एक थान उपलब्ध गराईएको छ।’ शाहीले भने।
नेविसंघ क्षेत्र नम्वर ५ का सचिव देवेन्द्र जोशीले भने, ‘यो अभियानमा देश तथा विदेशबाट सहयोग प्राप्त भएको हो। हामी सवै सहयोगी दाताहरुलाई धन्यवाद दिन चाहन्छौ।’
उनका अनुसार लकडाउनकै अवधीमा सुरु गरिएको घरदैलो रक्तदान अभियान अन्तर्गत धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा एक सय ५४ पिन्ट रगत पनि सङ्कलन गरिएको थियो।