सुदूर नेपाललाई विश्वसँग जोड्दै

किसानलाई मल अभाव, कम्पनी भन्छ– वितरण बढायौं

२०८३ साउन १४, ०५:५७ खबर संवाददाता

कञ्चनपुरः रासायनिक मलको खोजीमा यहाँका किसान दिनभर विभिन्न स्थानमा भौँतारिए पनि साँझ रित्तो हात फर्कन बाध्य छन् । गत असारमा धान रोपाइँ सकेर युरिया मल छर्कने बेलामा मल नै नपाउँदा किसान दिनहुँ कृषि सामग्री कम्पनी लिमिटेड, सहकारी संस्थामा भौँतारिन बाध्य छन् । 

भीमदत्त नगरपालिका–२ का कृषक गङ्गादेवी शाहले एक सातादेखि मलको खोजीमा नजिकैको साना किसान सहकारी र महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा नियमित धाइरहेको बताईन्। हालसम्म एक केजी युरिया मल नपाएपछि उनेले दुई बिघामा लगाएको धानखेती नै  खराब हुने भन्दै चिन्ता व्यक्त गरिन्। 

यहाँका किसान विगत एक सातादेखि मलको खोजीमा कृषि सामग्री कम्पनी लिमिटेडमा नियमित धाइरहेका छन् तर मल पर्याप्त नभएको भन्दै उपलब्ध नगराइँदा बुधबार उनीहरूले कार्यालय घेराउ गर्नुका साथै मल उपलब्ध गराउन माग गरका थिए । 

बेलडाँडीका कृषक पनि पछिल्लो समय रासायनिक मलको खोजीका लागि कृषि सहकारी केन्द्रमा धाउँदै आएका छन् । धानबालीमा आवश्यक समयमा मल हाल्न नपाउँदा यस वर्ष लगाएको धानबाली खराब हुन चिन्ता बढेको बेलडाँडीकी किसान रेनुका विष्टले गुनासो गरिन्।  

कृषि सामाग्री कम्पनी लिमिटेडले भने विगतको तुलनामा यस वर्ष अत्यधिक मल कृषि सहकारीमार्फत वितरण गरिएको दाबी गरेको छ । 

गत आर्थिक वर्षको असार मसान्तसम्म चार हजार ९ सय ८९।५ मेट्रिक टन युरिया मल वितरण गरिएको कार्यालय प्रमुख हेमराज जोशीले जानकारी दिए। उनका अनुसार साउनसम्म पुग्ने गरेर भीमदत्त नगरपालिकामा ९ सय ५९।३ मेट्रिक टन, वेदकोट नगरपालिकालाई ६ सय ९५।५ मेट्रिक टन, शुक्लाफाँटालाई ९ सय २४।५ मेट्रिक टन, कृष्णपुरलाई १ हजार २ सय ३८।६५  मेट्रिक टन, दोधारा चाँदनीलाई ५ सय ११ मेट्रिक टन र बेलडाँडी गाउँपालिकालाई ५ सय ७२।२ मेट्रिक टन युरिया पठाइएको बताए। 

यहाँका छ पालिकास्थित ९६ कृषि सहकारीमार्फत मल वितरण गरिएको कार्यालय प्रमुख जोशीले बताए। अघिल्लो आवको तुलनामा गत आवमा दुई सय मेट्रिक टनभन्दा बढी मल आपूर्ति भए पनि कृषकको माग अत्यधिक देखिएकाले पु¥याउन नसकिएको उनको भनाइ छ ।

चालु आर्थिक वर्षको १२ दिनमा २ सय ४० मेक्टिक टन युरिया मल आएकाले अझै ६९।६ मेट्रिक टन मौज्दात रहेको कार्यालयका सूचना अधिकारी कृष्णबहादुर डिसीले जानकारी दिए। उनले अझै केही सहकारी सम्झौता गर्न नआएकाले केही दिनमै सो मल वितरण प्रक्रिया अगाडि बढाइने बताए। 
 

कमेन्ट लोड गर्नुस