सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरीकी मनछोटी रानाः जहाँ अरूले फोहोर देखे, त्यहीँ उनले देखिन् भविष्य

२०८३ साउन १४, ०५:४२ विन्दु चन्द

धनगढीः बिहानको झिसमिसे उज्यालो फैलिनुअघि नै अधिकांश मानिस निद्रामै हुन्छन्। तर कञ्चनपुरको बेलौरीकी ६० वर्षीया मनछोटी राना भने पुरानो साइकल चढेर बजारतर्फ लागिसकेकी हुन्छिन्। उनको गन्तव्य कुनै कार्यालय वा खेतबारी होइन, बजारका गल्ली–गल्लीमा रहेका डस्टबिन र फोहोरका थुप्रा हुन्। जहाँ धेरैले फोहोर देख्छन्, त्यहीँ उनले आफ्नो जीवन धान्ने आधार भेटेकी छन्।

जीवनभर संघर्षसँगै हुर्किएकी उनले सानैदेखि ज्याला–मजदुरी गरेर परिवार पालिन्। दिनभर अरूको घरमा भाँडा माझ्ने, लुगा धुने, खेतबारीमा काम गर्ने र भारी बोक्ने काम गर्दा कहिलेकाहीँ १० रुपैयाँ र बढीमा १५ रुपैयाँ मात्रै ज्याला पाउने दिन पनि उनले भोगिन्।

समयसँगै ज्याला बढ्दै गएर दैनिक ६–७ सय रुपैयाँसम्म पुग्यो। तर उमेरले शरीर कमजोर बनायो। पहिलेजस्तो भारी काम गर्न नसक्ने अवस्था आएपछि उनको मनमा एउटै चिन्ता थियो– अब गुजारा कसरी चलाउने?

उनी सम्झिन्छिन्, 'विवाहपछि लगातार मजदुरी गरें। दिनभर काम गर्दा कहिले १० रुपैयाँ पाइन्थ्यो, कहिले १५ रुपैयाँ त पछि ६–७ सय रुपैयाँसम्म कमाएँ। तर अहिले शरीरले साथ दिन छाड्यो, भारी काम गर्न सकिँदैन।'

शारीरिक कमजोरीले मजदुरी गर्न नसके पनि उनले हार मानिनन्। काम गर्ने क्रममा उनले गाउँ र बजारमा केही मानिस कवाड संकलन गरिरहेको देख्थिन्। उनीहरूलाई देख्दा मनमा एउटै जिज्ञासा उठ्थ्यो– आखिर यो फोहोर संकलन गरेर के गर्छन्?

'एक दिन मैले एउटा भारतीय वृद्धलाई सोधेँ, ‘यो कवाड किन उठाउनुहुन्छ?’ धेरैले जवाफ दिएनन्। तर उहाँले भन्नुभयो, ‘यसलाई जम्मा गरेर बेच्ने हो, यहीबाट हाम्रो गुजारा चल्छ।'

यही एउटा जवाफले उनको जीवनको बाटो बदलिदियो।

त्यसपछि उनले पनि फोहोरमा अवसर खोज्न थालिन्। बिहान अन्धकारमै साइकल चढेर बजार पुग्छिन्। डस्टबिन र फोहोरका थुप्राबाट प्लास्टिकका बोतल, पुराना किताब, फलाम, तामा तथा पुनः प्रयोग गर्न मिल्ने सामग्री संकलन गर्छिन्। घरमा ती सामग्री छुट्याएर भण्डारण गर्छिन् र पर्याप्त भएपछि भारत लगेर बिक्री गर्छिन्।

आज यही काम उनको मुख्य आम्दानीको स्रोत बनेको छ। आफ्नै खर्च आफैं जुटाउने उनले छोरा–बुहारीमाथिको आर्थिक भार पनि कम गरेकी छन्।

उनी भन्छिन्, 'आफ्नो खर्च आफैं चलाउँछु। यसले छोरा–बुहारीलाई पनि सहज भएको छ। उनीहरूलाई सकेको सहयोग गरिरहेको छु।'

उनकी बुहारी शोभा रानाका अनुसार सासुको आत्मनिर्भरताले परिवारलाई ठूलो राहत मिलेको छ।

'पहिले सासुको खर्च पनि हामीले बेहोर्नुपर्थ्यो। अहिले उहाँले आफ्नै खर्च आफैं चलाउनुहुन्छ। बिहान कवाड संकलन गरेर छिट्टै फर्किनुहुन्छ। त्यसपछि घरका बालबालिकाको हेरचाह गर्नुहुन्छ। हामी निर्धक्क भएर मजदुरीमा जान सक्छौं,' उनी भन्छिन्।

राना आमासँग न ठूलो घर छ, न खेतीपाती गर्ने जमिन। उनी सानो झुपडीमै बस्छिन्। तर उनको आत्मविश्वास भने कुनै महलभन्दा कम छैन। उनको विश्वास छ– मेहनत गरेर कमाएको आम्दानी नै सबैभन्दा ठूलो सम्पत्ति हो।

बेलौरीकी यी आमाको कथा गरिबी र अभावको मात्र कथा होइन। यो श्रमको सम्मान, आत्मनिर्भरता र जीवनका कठिन मोडमा पनि हार नमान्ने अदम्य साहसको प्रेरणादायी उदाहरण हो। झुपडीमा बस्ने उनी सम्पत्तिले धनी नभए पनि आत्मसम्मान, मेहनत र आत्मविश्वासले साँच्चिकै धनी बनेकी छन्।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस