फोनबाटै मनोसामाजिक परामर्श
कैलाली : रोजगारीको शिलशिलामा विदेशमा रहेकाहरुका परिवारका सदस्यहरुलाई फोनबाटै मनोसामाजिक परामर्श दिन थालिएको छ। कैलालीका चार वटा स्थानीय तहमा लागू भएको सुरक्षित आप्रवासन परियोजना अन्तर्गत परामर्श दिने कार्य भइरहेको हो। यस्तै विदेशमा रहेकाहरुको स्वास्थ्य, कामको अवस्था आदिबारे पनि परिवारका सदस्यसँग बुझ्ने र आवश्यक सहयोग, समन्वय गर्ने कार्य पनि भइरहेको परियोजनाले जनाएको छ।
कोरोना भाइरसको त्रासका कारण मानसिक असर पर्न नदिन फोनबाट मनोपरामर्श दिने गरिएको परियोजनाअन्तर्गत घोडाघोडी नगरपालिकामा कार्यरत मनोसामाजिक परामर्शकर्ता ममता बमले बताइन्। विदेशमा अफ्ठेरामा परेकाहरुका परिवारका सदस्यमा पनि मानसिक प्रभाव पर्ने भएकाले उनीहरुलाई पनि परामर्श उपलब्ध गराउने गरिएको उनले बताइन्।
कोरोना भाइरसको संक्रमण फैलन नदिन लागू गरिएको लकडाउनयता घोडाघोडी नगरपालिकामा मात्र २४ जनालाई परामर्श दिइएको छ। विदेशमा रहेकाहरु समस्यामा परेको भए समाधानका लागि स्थानीय तहमार्फत सरकारसँग समन्वय गर्ने कार्य पनि भइरहेको परियोजनाका वित्तीय साक्षरता सहजकर्ता कमला जोशीले बताइन्।
परियोजनाअन्तर्गत जिल्ला प्रशासन कार्यालय कैलाली र इलाका प्रशासन कार्यालय टीकापुरमा सुरक्षित आप्रवासन केन्द्र स्थापना गरेर विदेश जान राहदानी बनाएकाहरुलाई सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी दिँइदै आएको छ।
नेपाल सरकार र स्वीस सरकारको सम्झौताअनुसार हेल्वेटासको सहयोगमा टे«स कैलालीले धनगढी उपमहानगरपालिका, टीकापुर र घोडाघोडी नगरपालिका तथा जानकी गाउँपालिकामा सुरक्षित आप्रवासन परियोजना लागू गरेको छ ।