धनगढी उप–महानगरपालिकामा अख्तियारको छापा, खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा
धनगढी : धनगढी उप–महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले उप–महानगरपालिकामा आज दिउँसो छापा हानेर राहत सामग्री खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको हो।
अख्तियारका प्रवक्ता टोपबहादुर विष्टले राहतका सामग्री खरिद प्रक्रियामा भएको अनियमितता बारे छानविन गर्न सबै कागजपत्र नियन्त्रण लिईएको बताए। विष्टले अहिले खरिद प्रक्रियाका सबै कागजपत्रको प्रमाणित प्रतिलिपी नियन्त्रणमा लिईएको बताए।
धनगढी उप–महानगरपालिकाले दुई करोड ६१ लाखमा राहत सामाग्री खरिदका लागि धनगढीकै ठाकुर ट्रेडलाई ठेक्का दिएको थियो। ठेक्कामा मिलोमतो भएको आशंका गरिएको छ।
सप्लायर्सले आपूर्ति गरेको चामल कुहिएको भेटिएपछि विभिन्न वडाका स्थानीयले राहतको चामल फिर्ता गरेका थिए। बोलपत्र दर्ताको समय नसकिदै र मुल्याङकन समेत नगरी उप–महानगरपालिकाले ठाकुर ट्रेड लिंकको बोलपत्र स्वीकृतका लागि टिप्पणी उठाएको छ।
उप–महानगरपालिकाले बैशाख ११ गते बोलपत्र आह्वान गरेकोमा दर्ताको समय १४ गते १२ बजे सम्म राखेको छ। १४ गते सम्म बोलपत्र दर्ताको समय भएपनि उप–महानगरपालिकाले भने १२ गते नै ठाकुर ट्रेड लिंकको बोलपत्र मुल्याङकनमा सफल भईसकेको भन्दै स्वीकृतका लागि टिप्पणी उठाएको छ।
१२ गते नै धनगढी उप–महानगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण प्रसाद शर्मा, जिन्सी शाखा प्रमुख कृष्ण प्रशाद जोशी, खरिद इकाई प्रमुख सुरेन्द्र कार्की, लेखा अधिकृत डिल्लीराज ओझा र लेखा शाखा प्रमुख सरस्वती जोशीले उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई टिप्पणी उठाएर स्वीकृतीका लागि पेश गरेका छन्।
१३ र १४ गते मध्यान्न १२ बजे सम्म पनि सप्लायार्सले बोलपत्र दर्ता गर्न सक्ने समय भएपनि १२ गते नै ठाकुर ट्रेडको बोलपत्र स्वीकृतीका लागि टिप्पणी उठाएको खुलेपछि ठेक्कामा मिलोमतो भएको आशंका बढेको छ।