सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदुरपश्चिम फाउन्डेसनद्वारा अशक्त युवतीलाई खाद्यान्न सहयोग

२०७७ जेठ १, ०३:५५ खबर संवाददाता

धनगढी : कैलालीमा रुखबाट लडेर ढाड भाँचिएर पूर्ण अशक्त भएकी युवतीलाई खाद्यान्न लगायत सामग्री सहयोग गरिएको छ। राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी सिञ्जा रावत, सुदूरपश्चिम फाउण्डेसन र नेपाल पारा ओलम्पीक कमिटी सुदूरपश्चिमको आर्थिक सहयोगमा धनगढीको फुलबारीकी २२ वर्षीया टीका पुरीलाई चामल, तेल, नुन लगायतका खाद्य सामग्री सहयोग गरिएको हो।

पुरीलाई एक क्वीन्टल चामल, १० किलो दाल, ३० प्याकेट नुन, २० प्याकेट तेल, नुहाउने तथा लुगा धुने गरी २०÷२० प्याकेट साबुन एवंम् ४० प्याकेट कपडा धुने सोडा सहयोग गरिएको सुदूरपश्चिम फाउण्डेसनका अध्यक्ष भरत शाहले जानकारी दिए। अहिले गौरीगंगा नगरपालिकाको मंगलपुर स्थित काकाको घरमा बस्दै आएकी उनलाई बीहीबार घरमै पुगेर सामग्री हस्तान्तरण गरिएको अध्यक्ष शाहले बताए।

लकडाउनका बेला मिलेको खाद्यान्नले केही राहत पुग्ने उनले बताइन्। शारीरिक रुपमा पूर्ण अशक्त पुरीलाई यसअघि पनि व्यक्तिगत सरसफाईमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरिएको नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिमका अध्यक्ष दीर्घकुमार स्वाँरले बताए।   २०७४ बैशाखमा घाँस काट्ने क्रममा रुखबाट लडेर उनको ढाड भाँचिएको थियो।

उनका बुवा भारतमा मजदुरी गर्दै आएका छन्।  ‘बैशाखमा मेरो घटना भयो, त्यही असोजमा गोरुले हानेर आमा बित्नु भो।’ टीकाले भनिन्, ‘भएको जग्गा जमिन पनि उपचारमा सकियो, मेरै लागि ७० वर्षका बुवा भारतमा मजदुरी गर्दै हुनुहुन्छ।’

पुरीको कम्मरको नशा भाँचिएकाले कम्मरमुनिको भाग चल्दैन्। उनी ह्वील चियरको सहारामा हिँड्डुल गर्छिन्। ‘हातले काम गर्नसक्छु, बसेर हातले गर्ने काम गर्ने काम पाइए आत्मनिर्भर बन्न सक्थेँ।’ उनले भनिन् ।
 

कमेन्ट लोड गर्नुस