सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा राहतको ठेक्कामा अनियमितता: मुल्याङकन भन्दा दुईदिन अगाडि स्वीकृतका लागि टिप्पणी

२०७७ जेठ १, ०९:०४ खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिकाले राहतका लागि चामल खरिदको ठेक्का मापदण्ड विपरित स्वीकृत गरेको खुलेको छ। बोलपत्र दर्ताको समय नसकिदै र मुल्याङकन समेत नगरी उप–महानगरपालिकाले ठाकुर ट्रेड लिंकको बोलपत्र स्वीकृतका लागि टिप्पणी उठाएको खुलेपछि ठेक्का प्रक्रिया नै मापदण्ड विपरित भएको खुलेको हो।

उप–महानगरपालिकाले बैशाख ११ गते बोलपत्र आह्वान गरेकोमा दर्ताको समय १४ गते १२ बजे सम्म राखेको छ। १४ गते सम्म बोलपत्र दर्ताको समय भएपनि उप–महानगरपालिकाले भने १२ गते नै ठाकुर ट्रेड लिंकको बोलपत्र मुल्याङकनमा सफल भईसकेको भन्दै स्वीकृतका लागि टिप्पणी उठाएको छ।

१२ गते नै धनगढी उप–महानगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण प्रसाद शर्मा, जिन्सी शाखा प्रमुख कृष्ण प्रशाद जोशी, खरिद इकाई प्रमुख सुरेन्द्र कार्की, लेखा अधिकृत डिल्लीराज ओझा र लेखा शाखा प्रमुख सरस्वती जोशीले उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई टिप्पणी उठाएर स्वीकृतीका लागि पेश गरेका छन्।

१३ र १४ गते मध्यान्न १२ बजे सम्म पनि सप्लायार्सले बोलपत्र दर्ता गर्न सक्ने समय भएपनि १२ गते नै ठाकुर ट्रेडको बोलपत्र स्वीकृतीका लागि टिप्पणी उठाएको खुलेपछि ठेक्कामा अनियमितता भएको आशंका बढेको छ।

१२ गते टिप्पणी उठाउँदै मुल्याङकनमा ठाकुर ट्रेड सफल भएको भनिएको छ। तर मुल्याङकन समितिको बैठक भने दुई दिन पछाडि १४ गते राति ८ बजे बसेको छ। १४ गते राति ८ बजे प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले निर्धारित समयमा एक मात्र बोलपत्र दर्ता भएको र मुल्याङकनमा सफल भएको निर्णय गरेको छ। 

सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र दर्ताको समय सकिएपछि सुरुमा बोलपत्रको मुल्याङकन हुनुपर्ने हो। मुल्याङकनमा सफल भएपछि मात्रै टिप्पणी उठाउनुपर्ने हो तर उप–महानगरपालिकाले दुई करोड ६१ लाखको राहतका सामाग्री खरिद गर्दा बोलपत्रको मुल्याङकन भन्दा पहिले स्वीकृतीका लागि टिप्पणी उठाएको फेला परेपछि आर्थिक चलखेलको आशंका झनै बढेको छ।

ठेक्का स्वीकृतीका लागि टिप्पणी १२ गते नै पेश भएपनि प्रमुख प्रशासकिय अधिकृतले स्वीकृत भने १५ गते ११ बजेर ४५ मिनेटमा गरेका छन्। धनगढी उप–महानगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण प्रसाद शर्मालाई बुझ्न खोज्दा उनले बोल्न मानेनन्। ठेक्का स्वीकृत गर्ने प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाको सरुवा भईसकेको छ। 

 

कमेन्ट लोड गर्नुस