कैलालीमा प्रिन्सिपल मृत्यु प्रकरणः छानविनमा दवाव दिन २ समिति, जेठ ५ सम्म प्रर्दशन स्थगित
धनगढी : बैशाख ११ गते मृत फेला परेका कैलालीको गौरिगंगा नगरपालिकाको बिहानी क्षितिज विद्यालयका सञ्चालक तथा प्रिन्सिपल कृष्ण भुसालको हत्या भएको भन्दै छानविनका लागि दवाव दिन भइरहेको प्रदर्शन स्थगित भएको छ। एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष समेत रहेका उनको मृत्युको कारण पत्ता लगाउन मसुरियामा भइरहेको जनप्रदर्शन जेठ ५ गतेसम्मलाई स्थगित गर्ने सर्वदलीय सर्वपक्षीय बैठकले निर्णय गरेको छ।
बुधबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले घटनाको गम्भीर र गहन अनुसन्धान गर्न सम्बन्धित निकाय जिम्मेवार नभएमा जेठ ६ गतेदेखि संघर्षका अन्य दवावमूलक कार्यक्रम गर्ने संघर्ष समितिका संयोजक देवीदत्त कंडेलले बताए।
भुसालको हत्या भएको भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका निकायमा दवाव दिने उदेश्यले त्यहाँ दुईवटा समिति गठन गरिएको छ। गौरीगंगा नगरप्रमुख भिमबहादुर देउवाको संयोजकत्वमा कृष्णकुमार चौधरी, मदन राज जोशी, रामबहादुर कलेल र शिव प्रसाद खरेल रहनेगरी ५ सदस्यीय समन्वय समिति बनाइएको छ। त्यस्तै जनस्तरबाट न्यायपूर्ण दवाव सिर्जना गर्न देवीदत्त कडेलको संयोजकत्वमा ३१ सदस्यीय संघर्ष समिति समेत गठन गरिएको छ।
गौरीगंगा नगरपालिका वडा नम्वर ९ का भुसाल ११ गते पहलवानपुरबाट २ किलोमिटर पश्चिममा भेटिएका थिए। पहलवानपुर मसुरीया आउँदा सडकको दक्षिण भएर फर्किनुपर्नेमा भुसालको शव विपरित साईडमा भेटिएपछि स्थानीयले हत्या भएको आशंका गर्दै आएका छन्। मृतकले ल्याएका भोड्काका बोतल उनी मृत भेटिएको स्थान भन्दा झण्डै एक किलोमिटर पूर्व भेटिएका थिए।