सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन्दर सुदूरमा कृषि क्रान्ति गर्दै डडेल्धुराका प्रशाद

२०७७ वैशाख २२, ०२:२७ खबर संवाददाता

गणेशथापा मगर, डडेल्धुरा : डडेल्धुराको  गन्यापधुरा गाउँपालीका – १ का प्रशाददत्त अवस्थी आजभोली खेतबारीमै व्यस्त देखिन्छन्। ४० वर्ष कटेका उनले योजनासहित केहि समय अघिबाट नमूना व्यसायीक कृषि सुरु गरेका छन्। 

गाउँपालीका वडा नम्बर १ को बलतडी, लकतडा, कर्कले र खोलीमा स्थानीयको करिब ६ सय रोपनी जमिन भाडामा लिएर उनले भागेश्वर कृषि तथा पशुपालन फर्मका नामबाट नमुना व्यवसायिक कृषि सुरु गरेका हुन्। जसबाट प्रसादले थुप्रै स्थानीयलाई राेजगारी समेत दिएका छन्। 

उसो त उनले विगतमा पनि कृषि कार्य नगरेका होइनन्। पहिले उनी भातकाँडामा आफुले तथा छिमेकीले उब्जाएको तरकारी संकलन गरेर अन्य जिल्लासम्म निर्यात गर्ने गर्दथे। तर आजभोली त्यही अनुभवलाई उनले व्यवसायीक कृषिमा ढालेका छन्। स्नातक तहसम्मको अध्ययन गरेका प्रशाद त्यही काम गर्दागर्दै आफु व्यवसायीक कृषि पेशातर्फ आकर्षित भएको बताउँछन्। 

आशिंक रुपमा ६० देखि ७० र नियमित रुपमा १५ जना स्थानीयलाई रोजगारको सृृजना गरेका प्रशादले हाल करिब ३ सय ५० रोपनी जमिनमा उन्नत आलु लगाएका छन भने बाँकी जमिनमा लसुन, प्याज, फर्सी, काक्रा लगायतका मौषमी तथा बेमौषमी तरकारी लगाएका छन्। ‘आलु लगाउने, गोड्ने र खन्ने समयमा ६० देखि ७० जनाले रोजगारी पाउँछन’ उनले भने, ‘तर नियमित रुपमा १५ जना काम गर्छन। प्रत्येकले खानासहित १० देखि २० हजारसम्म पारिश्रमिक बुझ्ने गरेका छन।’

कृषिमा नयाँ प्रयोग गर्न रुचाउने प्रसादले भाडामा लिएको करिव १ सय ५० रोपनी जमिनलाई तरकारी खेतीका लागि उपयुक्त बनाएको देख्दा कसैलेपनि भन्न सक्दैन, त्यो जमिन पहिले बाझो थियो। सुरुमा सामुहिक खेतीको अवधारणामा काम गर्ने योजना बनेपनि विविध विषयमा कुरा नमिल्दा एक्लै आटेको बताउने प्रशादले सुरुमा जमिनको भाडा, खनजोत र केहि सामान्य संरचना निर्माणका लागी करिव ३० लाख जति खर्च भएको बताए। ‘कर्मचारी, बिउ, मलखाद र अन्य खर्च गरी हालसम्म करिब १ करोड २० लाख जति खर्च भएको छ तर सिजनमा सबै तरकारी सप्रेकाले १ करोडको आम्दानी फर्किन्छकी भन्ने विश्वास छ’ उनले भने। 

करिव एकवर्ष पहिले सुरु गरिएको कृषि फर्मबाट आजभोली हरेक दिनजसो एक जिप र कहिलेकाही दुई जिपसम्म तरकारी स्थानीय तथा छिमेकी डोटिको दिपायल बजारसम्म जाने गरेको उनले बताए। उनी भन्छन, ‘अब पूर्ण रुपमा तरकारी उत्पादन भइसकेको अवस्थामा स्थानीय बजारसहित तराईका जिल्ला धनगढी, महेन्द्रनगर, बुटवल तथा काठमाण्डौका तरकारी व्यापारीसँग कुरा भएको  छ। त्यहाँ निर्यात गर्ने योजना छ।’

मौषम र मेहनतले राम्रो साथ दिइरहेकोले भागेश्वर कृषि तथा पशुपालन फर्ममा आलु तथा तरकारीहरु राम्रोसंग फस्टाएको देखिन्छ। प्रशादलाई उक्त कार्यका लागी प्रधानमन्त्री कृषि आयोजनाले प्राविधिक र केहि अनुदान सहयोग उपलब्ध गराइरहेको छ भने गन्यापधुरा गाउँपालीकाबाट २ र वडाबाट १ लाख अनुदान प्राप्त भइरहेको छ। रोगकिराको जटिल संक्रमण नभए आलुबाट मात्रै यो सिजनमा ४० देखि ४५ लाख आम्दानी हुने प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजनाका आयोजना प्रमुख खेमराज जोशी बताउँछन्। 

लगत्तै १० हजार बोट काक्रा लगाउने तयारी गरिरहेका प्रशाद आफु आत्मनिर्भर हुन र समाजलाई आत्मनिर्भर बनाउन तथा सामान्य आम्दानीको लागी बैदशिक रोजगारमा गईरहेकाहरुलाई उदाहरणका पात्र बनेका छन्। 

स्वदेशमै रोजगारीको सृजना गर्नको लागि कृषि क्रान्तिमा होमिएको बताउँदै उनी भन्छन, ‘बेरोजगार  तथा ईच्छुक युवाहरु आउनुस यहाँ रोजगारसहित सिप सिकाइने प्रतिबद्धता म व्यक्त गर्छु।’ भिमदत्त राजमार्गमा पर्ने भात्काँडा बजारबाट ७ किलोमिटरको दुरीमा रहेको भागेश्वर कृषि तथा पशुपालन फर्ममा कृषक, कृषिका विद्यार्थी र कृषिको क्षेत्रमा काम गर्नेहरुका लागि उपयुक्त अध्ययन तथा अवलोकन गर्ने थलो भएको भन्दै उनले भ्रमणका लागि विभिन्न माध्यमबामटनिम्तो दिइरहेका छन्। 
    

कमेन्ट लोड गर्नुस