डोटीमा खोप सेवा पुनः सुुरु
डोटी : डोटीमा लकडाउनका कारण एक महिनादेखि रोकिएको खोप सेवा पुनः सुुरु भएको छ।
स्वास्थ्य सेवा विभागले नियमित खोप सेवा शुरु गर्ने परिपत्र गरेसँगै जिल्लाभरिमा नियमित खोप सेवा शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ। जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न खोप तालिकाअनुसार दिन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।
बालबालिकालाई बिसिजी, डिपिटी, दादुरा–रुवेला, एफआइपिभी, पोलियो, जापनिज इन्सेफ्लाइटिस र पिसीभीलगायतका रोगविरुद्धका १२ प्रकारका खोप दिइने गरिन्छ। खोप जन्मेदेखि १५ महिनाभित्र दिइने गरिन्छ । लकडाउनको समयमा जिल्लभरिमा अवरुद्ध भएका सबै खोप सेवा सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मलासीले जानकारी दिए। –रासस