पूर्वी नेपालबाट सुदूरपश्चिम आउने क्रम रोकिएन, आज ११ सय बढि भित्रिए
धनगढी : पूर्वी नेपालबाट मंगलबार पनि एक हजार एक सय सात जना सुदूरपश्चिम भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरु चिसापानी हुँदै सुदूरपश्चिम भित्रिएका हुन्।
गृह मन्त्रालयले सवारी पास नभएका यातायात सञ्चालनमा रोक लगाएको भएपनि काठमाडाँै लगायतका पूर्वी नेपालबाट सुदूरपश्चिम आउने क्रम रोकिएको छैन्। २२ वटा बस मार्फत उनीहरु चिसापानी पुगेका थिए। एक बस लम्जुङबाट आएको हो भने बाँकी २१ बस काठमाडौँबाट आएका हुन्।
गत चैत २७ गते पछि मात्र चिसापानी हुदै आठ हजार दुई सय ९६ जना सुदूरपश्चिम भित्रिएका छन्। उनीहरुलाई सुदूरपश्चिमका स्थानीय तहहरुले क्वारेन्टाईनमा राखेको छैन्। उनीहरु मध्ये अधिकांस घर गएका छन्। हिजो मात्रै गृहको निर्देशनपछि कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले अन्य जिल्लाबाट हुने आवागमनलाई पूर्ण रुपमा रोक्ने बताएका थिए।
तर प्रशासनकै समन्वयमा आज चिसापानी पुगेकाहरुलाई सम्बन्धित स्थानीय तहमा पठाईएको छ।