सुदूर नेपाललाई विश्वसँग जोड्दै

किसानमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह

२०८३ साउन २०, १२:२० खबर संवाददाता

कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बुधबार कैलालीको लम्कीचुहा नगरपालिका–४, कौवापुरमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको बिउ प्रशोधन तथा भण्डारण गृह भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेशको अधिकांश जनसंख्या कृषि पेशामा आबद्ध रहेकाले कृषिमैत्री वातावरण सिर्जना गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए।

उनले लम्कीचुहामा प्रादेशिक अस्पताल सञ्चालनका क्रममा देखिएका अवरोधप्रति दुःख व्यक्त गर्दै स्थानीय तहबाट आवश्यक सहयोग प्राप्त भए प्रदेश सरकारले नमुना प्रादेशिक अस्पताल सञ्चालन गर्न तयार रहेको स्पष्ट पारे। साथै, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका प्रयोगात्मक कक्षाहरू लम्कीचुहा प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालबाट सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।

यसैबीच, तत्कालीन सत्तारूढ दल नेकपा (एमाले) का संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्री शाहले आफ्नो निर्वाचन क्षेत्रमा ५ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको आरोप लगाउँदै त्यसको पुष्टि गर्न चुनौती दिएका छन्।

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको बिउ प्रशोधन तथा भण्डारण गृह सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कृषि विकास निर्देशनालयको लागत साझेदारी कार्यक्रममार्फत निर्माण गरिएको हो। कृषि जन्य उद्योग स्थापना कार्यक्रमअन्तर्गत बिउ प्रशोधन मेसिन खरिद तथा जडान गरिएको यस आयोजनाको कार्यान्वयन सहकारी संस्थाले गरेको हो।

आयोजनाको कुल सम्झौता रकम ३४ लाख ५७ हजार रुपैयाँ रहेकामा बोलपत्र स्वीकृत रकम ३४ लाख ३० हजार रुपैयाँ कायम गरिएको छ। कृषि विकास निर्देशनालयले १७ लाख १५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ भने बाँकी रकम सहकारी संस्थाले व्यहोरेको जनाएको छ। संस्थाका अनुसार आयोजनाको वास्तविक लागत भने सम्झौताभन्दा केही बढी रहेको छ।

आयोजना २०८३ साल वैशाख ८ गते सम्झौता भई जेठ १२ गतेदेखि निर्माण सुरु भएको थियो। निर्माण कार्य २०८३ साल असार १५ गते सम्पन्न भएको हो।


 

कमेन्ट लोड गर्नुस