डोटी केआईसिंहको वडा कार्यालयमा तालाबन्दी
डाेटी : डाेटीको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ। जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर ६ को कार्यालयमा तालाबन्दी गरिएको हो। दैनिक ज्यालादारी गर्ने तथा विपन्न परिवारलाई राहत उपलब्ध गराउनुपर्ने भएपनि वडा कार्यालयबाट विभेदपूर्ण तरिकाले राहत वितरण गरेको आरोप लगाउदै तालाबन्दी गरिएको स्थानीय योगेन्द्र भट्टले बताए।
‘वडा अध्यक्षले आफु निकटकालाई मात्र राहत वितरण गरेकाकारण तालाबन्दी गर्न बाध्य भएका हौं’, उनले भने, ‘धेरै विपन्न परिवारलाई वेवास्ता गरी राहत समाग्री उपलब्ध गराइएको छ।’ उता गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले भने समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गरिरहेको बताएका छन्।
‘यसमा केही परिवार छुटेका होलान्, अन्यको समेत विवरण तयार गरी राहत वितरण गर्ने तयारीमा छौँ’, उनले भने, ‘सोही वडाका केही जनाको समुहले मदिरा सेवन गरी पुर्वाग्रही तरिकाले तालाबन्दी गरेका हुन्।’ उक्त विषयमा थाप जानकारी लिन नपाएको उनले बताए।
गाउँपालिकाका अध्यक्ष शाहीले वडा कार्यालयमा तालाबन्दी भएको जानकारी आएको बताएपनि वडा नम्बर ६ का वडा अध्यक्ष दीप बलायरले भने तालाबन्दी नभएको दावी गरे। ‘राहत वितरण गर्ने क्रममा स्थानीय युवाहरुको समुह आएपछि कार्यालय सहयोगीले ताला लगाएका हुन्’ उनले भने।