हावाहुरीले केराखेतीमा नोक्सानी
पूर्वी चितवनमा हावाहुरीले ठूलो परिमाणमा केराखेती नोक्सान गरेको छ। भारी वर्षासहित शुक्रबार बेलुकीको आएको हावाहुरीले करिब रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ। हावाहुरीले रत्ननगर, कालिका, राप्ती नगरपालिकादेखि पिप्लेसम्मको केरा नष्ट गरेको हो। यस्तै पश्चिम चितवन क्षेत्रका केरा बारीसमेत नोक्सान भएको कृषक बताउँछन्।
बन्दाबन्दीका कारण तयार भएको केरा बजारमा लैजान नसकेको अवस्थामा हावाहुरीले सयौँ किसानका केरा नोक्सान गरेको हो। कुन किसानको कति केरा नोक्सानी भएको भन्ने यकिन तथ्याङ्क आइनसकेको केरा उत्पादक सङ्घका निवर्तमान अध्यक्ष बिष्णुहरि पन्तले बताए। उनले सबै तथ्याङ्क आउन केही दिन लाग्ने बताए।
अन्य अन्नबाली धान, गहुँ, तोरीलगायत खेती गर्न छाडेर बैंकबाट ऋण लिएर केराखेती थालेका कृषकलाई प्राकृतिक प्रकोपले विनास ल्याउंँदा बैंकको ब्याज कसरी तिर्ने, बालबच्चा कसरी पढाउने, मजदुरको पारिश्रमिक कसरी तिर्ने र पुनःखेती कसरी सिर्जना गर्ने भन्ने चिन्ता बढेको कृषकको दुखेसो छ। हावाहुरीका कारण पसाउन लागेका, पसाएका र निकाल्ने बेलाका केरामा क्षति पुगेको छ। जिल्लाकै पकेट क्षेत्र मानिएको यो क्षेत्रमा उत्पादन हुने केरा देशभरि नै खपत हुँदै आएको थियो।
हावाहुरीकै कारण एउटै किसानको लाखौँको क्षति पुगेको छ। केही किसानले बोटको बीमा गरे पनि अधिकांश किसानले बीमा गरेका छैनन्। त्यसलै पनि अधिकांश कृषक चिन्तित छन्। यता रत्ननगरका केही केरा व्यवसायीले केरा नष्ट भए पनि अवलोकन गर्न समितिबाट प्रतिनिधि केराबारीमा नआएको गुनासो गरेका छन्। लकडाउनका कारण पूर्ण क्षति भएको र किसान आफैँ जान नसकेको व्यवसायी बाबुराम भट्टले बताए। रासस