बुटवलबाट हिँडेरै कैलाली आउन लागेका ४९ मजदुरका लागि डिलक्स गाडी, सबै घर पुगे
धनगढी : रुपन्देहीको बुटवलबाट हिँडेरै कैलाली आउन लागेका ४९ जना मजदुरलाई सैनामैना नगरपालिकाले डिलक्स गाडीको व्यवस्थापन गरेर पठाएपछि उनीहरु सबै घर पुगेका छन्। बुटवलका विभिन्न स्थानमा घर बनाउने काम गर्दै आएका मजदुरलाई ठेकेदारले लकडाउनका बेला खाने व्यवस्था नगरिदिएपछि भोकै बस्ने अवस्था रहेकाले उनीहरु समूह बनाएर पैदल घर आउन लागेका थिए।
सैनामैना नगरपालिकाले उनीहरुलाई सुरुमा क्वारेन्टाईनमा राख्दै स्वास्थ्य जाँच गरेको थियो भने त्यसपछि गाडीको व्यवस्था गर्दै घर पठाएको थियो। नगर प्रमुख चित्रवहादुर कार्कीले गाडीको व्यवस्था गर्दै घर पठाईएको बताए।
यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार उनीहरु धनगढी पुगेपछि धनगढी रंगशालाको क्वारेन्टाईनमा राखेर ¥यापिड टेस्ट गरिएको थियो। ¥यापिड टेस्टमा रिपोर्ट नेगेटिभ आएपछि सम्बन्धित स्थानीय तहको समन्वयमा होम क्वारेन्टाईनमा बस्ने गरी पठाईएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए।