विमानस्थलबाट पार्सलमार्फत पठाइएको ३.२ किलो गाँजासहित दुई जना पक्राउ
काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पार्सलमार्फत पठाइएको ३.२ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले गाँजा बरामद गर्दै दुई जनालाई नियन्त्रणमा लिएको हो।
ब्यूरोका अनुसार थाइल्यान्डबाट काठमाडौँ हुँदै भैरहवा जाने पार्सलमा शंका लागेपछि सम्बन्धित कुरियरबाट प्राप्त सूचनाका आधारमा प्रहरी टोलीले उक्त पार्सल चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा दुई वटा पार्सलमा लागू औषध गाँजा लुकाइछिपाइ राखिएको फेला परेको प्रहरीले जनाएको छ।
बरामद भएको गाँजा ३.२ किलो रहेको र पार्सल बुझिलिने व्यक्तिलाई पक्राउ गर्न प्रहरीले कन्ट्रोल डेलिभरीमार्फत निगरानी गरेको थियो। सोही क्रममा भारतीय नागरिकसहित दुई जनालाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का २३ वर्षीय मनोहर हरिजन र भारत उत्तर प्रदेश, बस्ती जिल्लाको परसरामपुरका १८ वर्षीय निखिल वर्मा रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ३.२ किलो लागू औषध गाँजा र दुई थान मोबाइल फोन बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।