सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट तत्काल स्वेदश फिर्ता नहुन आग्रह

२०७६ चैत्र १२, ०२:२३ कमल सावद

धनगढी: नेपाल सरकारले अन्तराष्ट्रिय सीमा नाका पूर्ण बन्दगरी देशभर लकडाउन गरेपनि सुदूरपश्चिमका नाका भएर स्वदेश फिर्ता हुने क्रम रोकिएको छैन्। कैलालीको गौरीफण्टा र कञ्चनपुरको गड्डाचौकी नाकासम्म आजपनि केही नेपाली पुगिरहेका छन्। 

भारतमा रहेका सुदूरपश्चिमेलीहरुलाई भारतमै सुरक्षित स्थानमा बस्न प्रदेश सरकारले आग्रह गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले भारतमा रहेका नेपालीहरुलाई स्वदेश तत्कालका लागि फिर्ता नहुन आग्रह गरे।

उनले भने, ‘सीमा बन्द गर्ने र खुल्ला गर्ने अधिकार संघीय सरकार मातहत छ। प्रदेश सरकारमा त्यो अधिकार छैन्। भारतमा रहेका नेपालीहरुलाई हाम्रो पनि आग्रह छ।’ ‘तपाई जुन ठाउँमा हुनुहुन्छ। त्यही ठाउँमा सुरक्षित बस्नुहोस। कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सहयोग गर्नुहोस’ मन्त्री शाहले भने।

उनीहरुलाई भारतबाट फिर्ता नहुन स्थानीय प्रशासनले पनि आग्रह गरेको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले नेपालका सीमा नाका बन्द गरिएका र देश लकडाउन गरिएकाले स्वदेश फिर्ता तत्काल नहुन आग्रह गरेका छन्। उनले भने, ‘भारतमा तपाई जुन स्थानमा हुनुहुन्छ। सोहि स्थानमा सुरक्षित बस्नुहोस्। तपाई नेपाल आउनु भयो भने दुःख पाउँनुहुनेछ। नेपाल लकडाउन गरिएको हुँदा सीमा नाका बन्द छन्।’ सीमा क्षेत्रमा झनै दुख पाईने भएकाले भारतमै सुरक्षित स्थानमा बस्न उनीहरुलाई आग्रह गरिएको छ। 

भारतमा रहेका नेपालीहरु सुदूरपश्चिमको सीमा नाका गौरीफण्टा र गड्डाचौकीबाट स्वदेश फिर्ता भएपछि स्थानीय प्रशासनलाई मंगलबार दिनभर सकस भएको थियो। भारतमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण फैलिएपछि भारत सरकारले लकडाउन गरेको छ।

सीमा नाका बन्द भइसकेका र देश नै लकडाउन भईसकेकोले भारतबाट सीमामा पुगेकाहरु अलपत्र पर्ने समस्या बढदै जाने छ। सोही कारण भारतीय दुतावासले समेत अहिले भएकै स्थानमा सुरक्षित बस्न आग्रह गरिसकेको छ। भारतमा रहेका विभिन्न संघसस्था पनि अहिले भारतमै सुरक्षित बस्न आग्रह गरिरहेका छन्। सुदूरपश्चिमेली नेपाली समाजका कोषाध्यक्ष भुवन भट्टले भारतमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता तत्कालनका लागि फिर्ता नहुन आग्रह गरेका छन्। 

कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकामा सयौँको सङख्यामा एकै पटक नेपाली आउँदा झनै कोरोनाको जोखिम बढने सम्भावना हुन्छ। सोही कारण अहिले सेल्फक्वारेन्टाइन वा एक्लो बस्नु नै सबैभन्दा उचित ठानिएको छ। 

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस