धनगढीमा तरकारीको मूल्य आकाशियो
धनगढी : कोरोनाले विश्व नै आतंकित भएका बेला छिमेकी मुलुक भारतमा पनि संक्रमण बढ्दै गएको छ। कोरोनाको संक्रमण नेपालमा भित्रिन नदिन साना नाकाहरु बन्द गरिएका छन्। तर गौरीफन्टा र गड्डाचौकी नाकामा समेत आवागमन बन्द भएको हल्ला फैलाउँदै धनगढी र आसपासका बजारहरुमा तरकारीको मूल्य बृद्धि गरिएको छ। एकसातामै अधिकासं तरकारीको मूल्य दोब्बरले बृद्धि भएको धनगढीका स्थानीय रमेश भट्टले बताए। ‘नाका बन्दको हल्लाले तरकारीको मूल्य आकाशिएको छ। सरोकारवाला निकाय मौन बसेका छन्।‘ उनले भने।
आजभन्दा तीन÷चार दिन अगाडी मात्रै टमाटर प्रतिकिलोको ४० रुपैँया थियो। तर अहिले दोब्बरले बढेर प्रतिकिलोको ८० रुपैँया पुगेको छ। यस्तै ५० रुपैँया किलो काउलीको मूल्य बृद्धि भएर एक सय पुगेको छ भने ८० रुपैँयामा पाईने हरियो खुर्सानीको मूल्य पनि बढेर प्रतिकिलोको एक सय ५० पुगेको छ। स्थानीय कृषि उपजको पनि मूल्य बृद्धि भएको गुनासो गरिएको छ। अहिलेकै सिजनमा उपलब्ध हुने तरकारीहरुको समेत अभाव देखिएको अत्तिरिया कृषि उपज थोक बजार समितिका अध्यक्ष नन्दलाल भट्टले बताए।
‘अहिले अधिकासं तरकारी भारत बाट आयात भईरहेको छ, स्थानीय उत्पादन निकै कम छ’ उनले भने, ‘अभाव देखाएर व्यपारीहरु महङ्गोमा विक्रिगर्ने गर्दछन्।’ नाका बन्दको हल्ला फैलाएर तरकारीको मूल्य दोब्बरले बृद्धिहुदै गएपनि सरोकारवाला निकाय वेखबर छन्। जिल्लास्थित सयुक्त बजार अनुगममन समितिले पटक–पटक अनुगमन त गरेको छ तर तरकारीमा नियमन राखिएको छैन्।
तर पनि गुनासोका आधारमा बजार अनुगम गरिने भएपनि मूल्यबृद्धिको प्रमाण भेटाउन मुस्कील हुने गरेको वाणिज्य कार्यालय कैलालीका प्रमुख कमल पुनमगरले बताए। ‘बजार अनुगमनको क्रममा मुल्यबृद्धि गरेको भेटाउन समस्या हुन्छ,’ उनले भने, ‘उपभोत्ताहरु विल माग्दैनन्, त्यसकारण मुल्यबृद्धि गर्ने व्यापारीलाई कारवाही गर्न समस्या भईरहेको छ।’