सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार दिन बित्दा पनि त्रिशूली ३बीमा रहेका व्यक्तिको अवस्था अज्ञात, हेमन्तराजको खोजीमा परिवारको अपिल

२०८३ भदौ १३, ०४:०६ खबर संवाददाता

काठमाडौँः त्रिशूली क्षेत्रमा विपद् आएको चौथो दिनसम्म पनि त्रिशूली जलविद्युत आयोजना–३बीमा रहेका व्यक्तिहरूको वास्तविक अवस्थाबारे स्पष्ट र आधिकारिक जानकारी सार्वजनिक हुन सकेको छैन। चार दिनदेखि आफ्ना आफन्तको अवस्थाबारे जानकारीको प्रतीक्षामा रहेका परिवारहरू चिन्ता, पीडा र अन्योलमा छन्।

विपद्पछि त्रिशूली क्षेत्रका विभिन्न स्थानमा उद्धार तथा राहतका गतिविधि भइरहेका समाचार सार्वजनिक भइरहेका छन्। प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरी खोज तथा उद्धार भइरहेको विवरणहरू बाहिर आए पनि त्रिशूली–३बीमा रहेका व्यक्तिहरूको अवस्था र उद्धारबारे पर्याप्त तथा स्पष्ट जानकारी नआउँदा आफन्तको चिन्ता थप बढेको छ।

यसैबीच, त्रिशूली ३बी साइटमा कार्यरत ३२ वर्षीय हेमन्तराज जोशी अझै सम्पर्कविहीन रहेको भन्दै परिवारले खोजी तथा उद्धारका लागि अपिल गरेको छ।

बझाङको जयपृथ्वी नगरपालिका–८ स्थायी घर भएका जोशी हाल चन्द्रागिरी नगरपालिका–१० मा बस्दै आएका थिए। उनी चिलिमे जलविद्युत कम्पनीअन्तर्गतको चेस्को कम्पनीमा कार्यरत रही निर्माणाधीन त्रिशूली–३ बी जलविद्युत आयोजनाको साइटमा काम गर्दै आएका थिए।

विपद्पछि जोशी परिवार तथा आफन्तको सम्पर्कमा नआएको परिवारले जनाएको छ। उनी सम्पर्कविहीन भएपछि परिवारमा थप चिन्ता र पीडा बढेको उनकी बहिनी सरिता जोशीले बताइन्।

परिवारका तर्फबाट सावित्री जोशी र रमा जोशीले हेमन्तराजको अवस्थाबारे कुनै जानकारी नहुँदा आफूहरू अत्यन्तै पीडामा रहेको बताए।

‘चार दिन भइसक्यो। हाम्रो मान्छे कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने केही थाहा छैन। हामीले चार दिनसम्म धैर्य गर्‍यौं। उहाँहरूको कुरा पत्यायौं, अझै पनि पत्याएका छौं। तर अब हामीमा त्यो सहन सक्ने अवस्था छैन,’ परिवारले भनेको छ।

उनीहरूले सरकारप्रति आफूहरूको विश्वास अझै कायम रहेको तर चार दिन बितिसक्दा पनि परिवारका सदस्यको अवस्थाबारे स्पष्ट जानकारी नआउनु अत्यन्तै पीडादायी भएको बताए।

‘यदि हाम्रो सन्तान, हाम्रो दाइ रहेन भने यो सरकारलाई हामीले छ भनेर कसरी मान्ने? हामीले सरकारमाथि विश्वास गरेका छौं। चार दिनसम्म उहाँहरूको कुरा पत्याएर बस्यौं। तर अब हामीलाई धैर्य गर्न पनि गाह्रो भइसकेको छ। सरकार के हेरेर बसेको छ?’ परिवारले प्रश्न गरेको छ।

परिवारले ३बी क्षेत्रमा अवस्था जटिल रहेको भन्दै उद्धारबाट पन्छिन नमिल्ने बताएको छ। अवस्था जटिल भए त्यसलाई समाधान गर्न राज्यका सबै संयन्त्र परिचालन गर्नुपर्ने उनीहरूको माग छ।

‘त्यहाँको अवस्था जटिल छ भनेर उम्किन पाइन्छ? अवस्था जटिल छ भने त्यसलाई समाधान गर्न राज्यका सबै संयन्त्र परिचालन हुनुपर्छ। राष्ट्रिय होस् वा अन्तर्राष्ट्रिय, जहाँबाट सहयोग लिनुपर्छ, लिएर भए पनि हाम्रा मान्छेलाई फर्काउन जरुरी छ,’ परिवारले भनेको छ।

हेमन्तराजसहित आफूहरूजस्तै पीडामा रहेका अन्य परिवारका आफन्तलाई समेत सकुशल फर्काउन सरकारले तत्काल पहल गर्नुपर्ने परिवारको माग छ।

‘मेरो दाइ मात्रै होइन, मेरो दाइजस्तै पीडामा परेका अरू परिवार पनि छन्। सबैका आफन्त छन्, सबैका घरमा मानिसहरू पर्खिरहेका छन्। उनीहरूलाई फर्काउन जरुरी छ। हामीलाई हाम्रो मान्छे चाहिएको हो,’ उनीहरूले भने।

विपद्का बेला नागरिकले सरकारबाट आफ्नो जीवन र परिवारको सुरक्षाको अपेक्षा गर्ने भए पनि हरेक पटक विपद्को भार सर्वसाधारणले नै बोक्नुपर्ने अवस्था दोहोरिन नहुने परिवारको भनाइ छ।

‘हरेकचोटि के हामी जनताले नै बलिदान दिनुपर्ने हो? हामीले नै सहनुपर्ने हो? हामीले नै आफ्ना मान्छे गुमाउनुपर्ने हो? हामीले नै पीडा सहेर बस्नुपर्ने हो? सरकार के हेरेर बसेको छ?’ परिवारले प्रश्न गरेको छ।

परिवारले उद्धारका लागि आवश्यक सबै स्रोतसाधन तत्काल परिचालन गर्न आग्रह गरेको छ। आवश्यक परे सुरक्षा निकाय, प्राविधिक जनशक्ति तथा अन्य उपलब्ध संयन्त्र परिचालन गर्नुपर्ने उनीहरूको माग छ। अवस्था जटिल भए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट आवश्यक सहयोग लिएर भए पनि खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन परिवारले आग्रह गरेको छ।

‘हामीलाई अब आश्वासन मात्र चाहिएको छैन। हामीलाई सही सूचना चाहिएको छ। त्यहाँको वास्तविक अवस्था के हो, हाम्रा मान्छे कहाँ छन्, कस्तो अवस्थामा छन् र उद्धारको काम कहाँसम्म पुगेको छ भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउनुपर्‍यो,’ परिवारले भनेको छ।

विपद्को चार दिन बितिसक्दा पनि आफ्ना परिवारका सदस्य तथा आफन्तको अवस्थाबारे आधिकारिक जानकारी नपाउँदा पीडित परिवारको बेचैनी थप बढेको छ। त्रिशूली क्षेत्रका अन्य स्थानमा उद्धार तथा राहतका गतिविधिका समाचार सार्वजनिक भइरहेका बेला ३बीमा रहेका व्यक्तिहरूको अवस्थाबारे स्पष्ट जानकारी नआउनुले परिवारमा थप चिन्ता सिर्जना गरेको छ।

परिवारले अपुष्ट सूचना वा हल्लाको भरमा बस्नुपर्ने अवस्था नरहोस् भन्दै सम्बन्धित निकायले ३बीमा रहेका व्यक्तिहरूको वास्तविक अवस्था तत्काल सार्वजनिक गर्नुपर्ने माग गरेको छ।

‘हामीलाई हाम्रा मान्छे चाहिएको हो। उद्धार सम्भव छ भने छिटो उद्धार गरियोस्। अवस्था जे हो, त्यो हामीलाई भनियोस्। तर चार दिनसम्म पनि अनिश्चिततामा राखिनु हुँदैन। हामीले धैर्य गर्‍यौं, विश्वास गर्‍यौं। अब सरकारले हाम्रो पीडा बुझेर तत्काल कदम चाल्नुपर्‍यो,’ परिवारले भनेको छ।

परिवारले हेमन्तराज जोशीलाई कसैले देखेको वा उनीसँग सम्बन्धित कुनै जानकारी पाएको भए तत्काल परिवार वा सम्बन्धित निकायलाई जानकारी गराइदिन अनुरोध गरेको छ।

हेमन्तराज जोशीको खोजी तथा उद्धारका लागि परिवारले सम्बन्धित निकाय, उद्धार टोली तथा सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ।

कमेन्ट लोड गर्नुस