सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभियुक्तलाई भीआईपी सुविधा, अस्पतालकै क्याविनमा १२ दिन

२०७६ फाल्गुन १०, ०४:१९ खबर संवाददाता

धनगढी : कर चुक्ता प्रमाणपत्र किर्ते गरेको पुष्टि भएपछि मंसिर १६ गते धनगढीस्थित अमित मेडिसिनका सञ्चालक दुस्यन्त बस्नेत र प्रदिप अग्रवाललाई पक्राउ गर्न प्रहरीले अनुमती पायो। त्यस्को ढाई महिना सम्म प्रहरीले दुवै जनालाई पक्राउ नै गर्न सकेन्।

बस्नेत त बेला–बेला धनगढी पनि आए तर प्रहरीले पक्राउ गर्न चाँसो नै दिएन्। माघ २८ गते अमितका सञ्चालक बस्नेत जिल्ला प्रहरी कार्यालय कैलालीमा आँफै उपस्थित भए। कानुन व्यवसायीसहित उपस्थित भएका उनले मेडिकल रिपोर्ट पनि साथमै लगेर गएका थिए।

यस्ले उनी प्रहरी हिरासतमा बस्न नपर्ने तयारी गरेरै प्रहरी कार्यालयमा उपस्थित भएको पुष्टि हुन्छ। स्वास्थ्य जाँचका लागि प्रहरीले उनलाई सेती अस्पताल ल्यायो र अस्पतालले पायल्स र सुगरको समस्या देखाउँदै अन्यत्र रेफर गर्न सुझायो। 

त्यसयता प्रहरीमा आत्मसमर्पण गरेपछि एक दिन समेत प्रहरी हिरासतमा नबसी बस्नेत विगत १२ दिनदेखि धनगढीकै नीजि सीपी अस्पतालको क्याविन नम्वर ४ मा भर्ना छन्। न अस्पतालले उनलाई डिस्चार्ज गरेको छ न त प्रहरीले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन खोजेको छ। बस्नेतले भर्ना भईरहनु पर्ने अवस्था नरेको अस्पतालले समेत बताउँदै आएको छ तर डिस्चार्ज भने दिएको छैन्।

सीपी अस्पतालका प्रबन्ध निर्देशक समेत रहेका बरिष्ठ सर्जन डाक्टर चन्द्रप्रकाश पाण्डेयले बस्नेतमा सुगरको समस्या रहेको बताए। उनले दिनेश खवरलाई भने, ‘अस्पतालमा भर्ना गरेर उपचार गरिरहनु पर्ने अवस्था छैन्। चिकित्सकको निगरानीमा रहने र आवश्यक परेका बेला अस्पताल ल्याउने गरी बस्नेतलाई अस्पतालबाट लैजान सकिन्छ।’

बस्नेतलाई अस्पताल भर्ना गरिएको विषय झण्डै एक साता सम्म लुकाएको जिल्ला प्रहरी कार्यालय कैलाली अहिले बस्नेतबिरुद्धको मुद्धा कमजोर बनाउन सक्रिय रहेको आरोप लागेको छ। सुरुका केही दिन सम्म अभियुक्त उपचारथ अस्पतालमा प्रहरी समेत नखटाईएकोमा केही दिन यता भने प्रहरी खटाईएको छ।

बेला–बेला जिल्ला अदालतमा उपस्थित गराउँदा बस्नेतलाई प्रहरीको गाडीमा समेत लगिएको छैन्। बस्नेत अहिले पनि नीजि गाडी प्रयोग गर्दै आएका छन्। यता प्रहरीले भने अस्पतालको आग्रह अनुसार नै बस्नेतको उपचार भईरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदिप गिरीले भने, ‘विरामीको अवस्था बारे अस्पताललाई सोधेका थियौँ। अस्पतालले बस्नेतलाई भर्ना गर्नु पर्ने कारण देखाएपछि अहिले उनको नीजि अस्पतालमा उपचार भईरहेको छ।’ अभियुक्त अस्पतालमा भर्ना भएपनि अनुसन्धान भने जारी रहेको प्रहरी उपरिक्षक गिरीले बताए। 

यता बस्नेतमाथिको अनुसन्धान बारे प्रहरी अधिकारीकै प्रतिक्रीया फरक–फरक आएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक गिरीले बस्नेतमाथिको अनुसन्धानका लागि दुई पटक म्याद थप भएको र तेश्रो पटक आईतवार म्याद थप हुने बताएका छन्।

तर अहिले प्रहरी प्रवक्ताको जिम्मेवारी पाएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक नारायण विष्टले तेश्रो पटक ५ दिनका लागि विहिवार नै म्याद थप भईसकेको बताए। जिल्ला प्रहरी कार्यालय कैलालीले सरकारी छाप दस्तखत किर्तेका अर्का अभियुक्त अमितकै सञ्चालक प्रदिप अग्रवाललाई पक्राउ गर्न पनि चाँसो दिएको छैन्। 

करोडौँ बाडेर उम्किने प्रयास
बस्नेत अस्पताल भर्ना भएपनि आर्थिक चलखेल गरी आफुमाथि लागेको मुद्धालाई कमजोर बनाउन सक्रिय रहेका छन्। प्रहरी प्रशासन, कर कार्यालयका कर्मचारी र केही पत्रकारलाई समेत प्रभावमा पारेर बस्नेत मुद्धा कमजोर बनाउने प्रयासमा जुटेका हुन्।

सरकारी छाप दस्तखत किर्तेका अभियुक्त बस्नेत र अग्रवाललाई ७ बर्ष कैद र ७० हजार जरिवाना सम्म हुने व्यवस्था रहेकोले उक्त सजायबाट जोगिन उनले करोडौँ बाडिरहेको दावी समाचार स्रोतको छ।

‘बस्नेतलाई सुरुमा धरौटीमा छुटाउने र आन्तरिक राजश्व कार्यालयले निर्धारण गरेको कर चुक्ता गरी सफाई दिने चलखेल भईरहेको छ।’ समाचार स्रोतले दिनेश खवरलाई भन्यो। 

सरकारी कागजात किर्ते गरी बर्षाैदेखि एकछत्र राज
सुदूरपश्चिमका विभिन्न सरकारी अस्पतालमा औषधी आपुर्तीको ठेक्का हत्याउनका लागि दुस्यन्त बस्नेत सञ्चालक रहेको विभिन्न आपुर्ती कम्पनीले कागजात किर्ते गरी बर्षाैदेखि एकछत्र राज गर्दै आएका छन्। गेटा आँखा अस्पतालको औषधी खरिदको टेण्डर पाउनका लागि कर चुक्ता प्रमाणपत्र किर्ते गरेका बस्नेतले अन्य ठेक्का पनि सोही प्रक्रिया मार्फत हत्याएको फेला परेको हो।

पछिल्लो तीन बर्ष यता मात्रै दुस्यन्त बस्नेत सञ्चालक रहेको अमित मेडिसियन, ड्रग सेन्टर र डिवी मेडिसिनले समेत कागजात किर्ते गर्दै औषधी आपुर्तीको टेण्डर पाएका छन्। बस्नेतले गेटा आँखा अस्पतालमा मात्रै नभई सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य निर्देशनालयका पनि करोडौंका ठेक्कामा कर चुक्ताको किर्ते प्रमाणपत्र पेस गरेको भेटिएको छ।

बस्नेत नै सञ्चालक रहेको ड्रग सेन्टरले पनि किर्ते कागजातको आधारमा धेरै औषधि आपुर्तिको ठेक्का लिएको छ। ड्रग सेन्टरले आइरन फोलिक एसिड ट्याब्लेट, भिटामिन ‘ए’ क्याप्सुल र आरयुटिएफ नामक औषधि आपूर्तिको ठेक्का पाउन प्रदेश स्वास्थ्य निर्देशनालयलाई कर चुक्ताको किर्ते प्रमाणपत्र बुझएको फेला परेको हो।

यता आन्तरिक राजश्व कार्यालय कैलालीले भने सञ्चालक बस्नेत रहेको आपुर्ती कम्पनीले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको पुष्टि भएपछि थप छानविन गरिरहेको छ। कार्यालयका प्रमुख कर अधिकृत चन्द्रकुमार श्रेष्ठले आर्थिक बर्ष २०७३/०७४ र २०७४/०७५ को कर निर्धारण समेत गरिएको बताए। अमित मेडिसिनले मात्रै दुई बर्षको अवधीमा ३४ लाख ९४ हजार कर छली गरेको प्रमुख श्रेष्ठले बताए।

उनका अनुसार आर्थिक बर्ष २०७५/७६ को आय विवरण अहिले सम्म अमितले बुझाएको छैन्। आय विवरण बुझाएपछि गत आर्थिक बर्षको समेत कर निर्धारण गरिने प्रमुख कर अधिकृत श्रेष्ठले बताए। अमित मेडिसिनले २०७४ साल माघ १० गते आन्तरिक राजश्व कार्यालयबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र आँखा अस्पतालको टेण्डरमा पेश गरेको थियो। सो प्रमाणपत्रमा धनगढीबाट पहिले नै सरुवा भइसकेका कर अधिकृतको  हस्ताक्षर रहेको फेला परेको थियो।
 

कमेन्ट लोड गर्नुस