सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडमा प्याराग्लाइडिङ : पर्यटन र आर्थिक समृद्धिको आधार

२०७६ फाल्गुन ५, ०८:४० रोशन भट्ट

डोटी चेम्बर अफ कमर्सले जिल्लाको दिपायलमा आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा प्याराग्लाइडिङ मुख्य आकर्षण बनेको छ। ‘सेतीको हिरा खप्तडको मोती, व्यापार पर्यटन र जलस्रोतबाट बनाउँछौँ समुन्नत डोटी’ भन्ने नाराका साथ भम्रण वर्ष २०२० लाई सफल बनाउन आयोजना गरिएको महोत्सवको अवलोकन गर्न आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण प्यारागलाइडिङ उडान बनेको छ।

दिपायलको खुल्लेक डाँडाबाट प्याराग्लाइडिङको उडान गरिन लागिएकाले दैनिक १० देखि १२ जनाले प्याराग्लाइडिङ उडान गर्ने गरेको चेम्बर अफ कमर्सले जनाएको छ। प्याराग्लाइडिङबाट सेती नदीको मनोरम दृष्यावलोकन गर्नूका साथै पूरै दिपायल, राजपुरका मनोरम स्थल आकाशबाट देख्न सकिने भएका कारणले पनि महोत्सव हेर्न आउनेहरुको रोजाईमा प्याराग्लाइडिङ पर्ने गरेको डोटी चेम्बर अफ कमर्सका अध्यक्ष केपी साउँदले बताए।

‘प्याराग्लाइडिङ गर्नेको घुईचो भईरहेको छ, यसले नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्छ।’ उनले भने। ‘सुदूरपश्चिममा पर्यटनको क्षेत्रमा प्याराग्लाइडिङले नयाँ भिजन लिएर आएको छ।’ डोटीकै जोरायल गाउँपालिका–२ छतिवनमा समेत प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको थियो। छतिवनको रिठा, बुडर, रुपसकाँडा लगायतका ठाउँमा प्याराग्लाइडिङ उडान गर्न सकिने भएको छ।

जिल्लाकै शैलेश्वरी, बडिकेदार, खप्तड, छतिवन ताल, नापानी, छहरा झरना, गोलादेउ लगायतका ठाउँबाट समेत प्याराग्लाइडिङ उडान गर्न सक्ने सम्भावना देखिएको छ। यस्तै बैतडीमा पनि प्याराग्लाइडिङको सफल परीक्षणपछि माघदेखि नियमित रुपमा सञ्चालन भईरहेको छ। भ्रमण वर्ष २०२० लाई लक्षित गरेर बैतडीको आकाशमा प्याराग्लाइडिङ उडान गर्न लागिएको हो। पाटन र दोगडाकेदारमा प्याराग्लाइडिङ उडान नियमित भईरहेको छ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न सफल प्याराग्लाइडिङलाई व्यवसायिकता दिन सकेमा पर्यटक भित्र्याउन सकिने सम्भावना बढेको छ। निजी क्षेत्रको प्रयासमा प्याराग्लाइडिङ उडान सुरु गरिएपनि सरकारी स्तरबाट भने पहल नभएको गुनासो डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टको छ। ‘लाईसेन्स दिने प्रक्रिया नेपालमा निकै झन्जटीलो छ।’ उनले भने। ‘नियमित प्याराग्लाइडिङ उडानको लागि लाईसेन्स चाहिन्छ।’

‘त्यसकारण राज्यले लाईसेन्स दिने वातावरण सहज बनाउनु प¥यो।’ उनले भने। सुदूरपश्चिममा प्याराग्लाइडिङको पर्याप्त सम्भावना छ भन्ने यी दुई नियमित उडानले प्रमाणित गरिसकेको छ। सुदूर पहाडका सात पहाडी जिल्लामा समेत प्याराग्लाइडिङको सम्भावना उत्तिकै छ। तर हाल सम्म सरकारी स्तरबाट यस क्षेत्रको सम्भावन बारे अध्ययन समेत हुन सकेको छैन्।

निजी क्षेत्र अग्रसर हुदापनि प्याराग्लाइडिङ संञ्चालनको लागि आवश्यक पर्ने अनुमती तथा लाईसेन्स पाउन समस्या हुने गरेको छ। त्यसकारण पनि धेरै व्यवसायीहरु यस क्षेत्रमा लाग्न आनाकानी गरिरहेका छन्। तर यसमा पर्यटक आकर्षण बढ्दै गएको बैतडीको पाटन नगरपालिकाका मेयर केशबबहादुर चन्दले बताए।

‘भारतबाट समेत नियमित प्याराग्लाइडिङ गर्न पर्यटकहरु पाटन पुग्ने गरेका छन्।’ उनले भने, ‘यसलाई थप व्यवस्थीत र नियमित गर्न लागि हामी पनि लागेका छौँ।’ सुदूर पहाडमा प्याराग्लाईडिङले व्यवसायिकता पाए पर्यटन प्रवद्र्धनसंगै आर्थिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस