कैलालीमा लागुऔषधको समस्या भयाबह बन्दै, छ महिनामै एक सय १० जना पक्राउ
कैलालीमा लागु औषध दुव्र्यशनीको समस्या भयाबह बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लामा लागुऔषध सेवनकर्ता र कारोवारीको सङख्या बर्षेनी बढ्दै गएको छ। पछिल्लो साढे पाँच बर्षको अवधीमा लागु औषधको ओसारपसार, सेवन तथा कारोबारमा संलग्न चार सय २९ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले आर्थिक वर्ष २०७२/७३ देखि हाल सम्म लागु औषध सम्बन्धीका मुद्दामा चार सय २९ जनालाई पक्राउ गरी मुद्दा चलाएको जानकारी दिए। प्रहरी नायव उपरिक्षक बस्नेतका अनुसार चार सय २९ जना विरुद्ध दुई सय ८५ वटा मुद्धा दर्ता भएका छन्।
‘चालु आर्थिक वर्षको छ महिनाको अवधीमा मात्र एक सय १० जनालाई प्रहरीले पक्राउ गरेको छ,’ प्रहरी नायव उपरिक्षक बस्नेतले भने, ‘आर्थिक बर्ष २०७५/०७६ मा उपचारका क्रममा दुई जना सेवनकर्ताको मृत्यु नै भएको थियो।’
चालु आर्थिक वर्ष २०७२/७३ मा लागुऔषध दुव्यर्शनीमा संलग्न ३३ जनालाई पक्राउ गरिएकोमा आर्थिक वर्ष २०७३/७४ मा ५१ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ। यसैगरी आर्थिक वर्ष २०७४/७५ मा एक सय ८ जना, र आर्थिक वर्ष २०७५/७६ मा एक सय २७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कैलालीमा सबैभन्दा बढि लागु औषध चरेशको कारोबार हुने गरेको पाईएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक बस्नेतले साढे पाँच वर्षमा दुई सय ४७ किलो चरेश बरामद गरिएको बताए। चरेशपछि कैलालीमा गाजा, ब्राउन सुगर, नाईट्रो भेट, स्पास्मो प्रक्सोभन लगायतका लागु औषधको कारोबार, ओसारपासर एवंम सेवन हुने गरेको छ।
लागु औषधको ओसारपसार, कारोबार तथा सेवनमा संलग्न व्यक्तिहरु नै चोरी डकैती लुटपाट जस्ता अपराधिक गतिविधीमा समेत संग्लन हुने गरेका छन्। तर पछिल्लो समय लागु औषध दुव्र्यशनी रोक्न सक्रियता बढाईएको प्रहरीले जनाएको छ।