पीएचडी गर्ने अमेरिकी डाक्टरले भनीन: स्वस्थानी दक्षिण एशियाकै उत्कृष्ट व्रत कथा
वानोद वान्थाईन र केरोन वान्थाईनका सुपुत्री अमेरिका निवासी जेसिका वान्थाईन विरकेन्होल्ज अमेरिकाकै यूनिभर्सिटी अफ ईलिनोयसका सह प्राध्यापक छिन्। उनी पहिलो पटक साँखुमा सन् १९९९ मा आउनुभएको थियो जत्तिखेर उनी बीए पढ्दै थिइन।
त्यसपछि उनी सन् २००५, २००६, २००८ र २०१४ मा पनि केही दिनको लागि साँखुमा आएकी थिइन। उनले दक्षिण एशियाका महिलाहरुको परम्परा विषयमा विद्यावारिधी गर्नुभएको थियो, यसै सिलसिलामा स्वस्थानी ब्रतकथामा पनि पीएचडी गरिन। त्यसै सिलसिलामा उनले साँखुको माधवनारायण स्वस्थानी व्रतको पनि अध्ययन अनुसन्धान गरिन। प्रस्तुत छ उनीसँग साँखुका संस्कृतिप्रेमी प्रविणराज श्रेष्ठको घरमा संस्कृति परम्परा र माधवनारायण स्वस्थानी व्रतका विषयमा लिईएको समसामयिक अन्तर्वार्ता।
तपाइँ पहिलोपटक साँखुमा कहिले आउनुभएको थियो ?
म सन् १९९९ मा पहिलो पटक बीए पढ्दै गर्दा साँखुमा आएको थिएँ। त्यत्तिखेर मैले दक्षिण एशियामा महिला परम्पराबारे अध्ययन गर्ने सिलसिलामा म यहाँ आएको थिएँ। पछि मैले दक्षिण एशियामा भाषा र सभ्यताबारे विद्यावारिधी (पीएचडी) गरेको थिएँ।
तपाइँ नेपालको कुन कुन सहर घुम्नुभएको छ ?
मैले काठमाडौँ, साँखु, भक्तपुर, पाटन, जनकपुर लगायतका साँस्कृतिक सहरहरु घुमेको छु। साथै तराईका कतिपय जिल्लाहरुमा पनि पुगेको छु। मलाई राम्रोसँग सबै जिल्लाहरुको नाम मलाई सम्झना छैन। विशेषगरि मैले तराईका जिल्लाहरुमा मनाईने जितिया, छठ, तीज, विवाह पञ्चमी, अनि साँखुको माधवनारायण स्वस्थानी व्रत सम्बन्धी अध्ययन गरेको थिएँ। त्यसमा पनि मैले स्वस्थानी व्रत लाई अन्य चाड पर्व र व्रतहरुको तुलनामा अति उत्कृष्ट र कठिन व्रतका रुपमा पाएकी छु। यो व्रत पूजा दक्षिण एशियाकै उत्कृष्ट व्रत पूजा हो।
तपाइँले गर्नुभएको अनुसन्धान अनुसार सबैभन्दा पुरानो स्वस्थानी कति वर्ष पुरानो रहेको छ ?
सम्भवत ४४१ वर्ष अगाडिको पुस्तक हुनुपर्छ । त्यो पुस्तक ने.सं. ६९३ को स्वस्थानीको पुस्तक हो। त्यसमा स्वस्थानीको व्रत सम्बन्धी पूजा विधीहरु २ दिन र १ रातको मात्रै वर्णन गरिएको छ। त्यसपछि ने.सं. ७२३ को स्वस्थानी पुस्तकमा भने १ महिनाको व्रत पूजाको वर्णन गरिएको पाएको छु।
स्वस्थानी व्रतमा छुवाछुतको व्यवस्था तपाइँलाई कस्तो लाग्यो ? त्यहाँ विभिन्न जातिका मानिसहरुलाई अछुतको रुपमा व्यवहार गरेको पाईन्छ नि !
म खुल्ला समाजको मान्छे। अनि म क्रिश्चियन धर्मावलम्बी त्यसैले मैले अर्को धर्म र संस्कृतिबारे बोल्दा अलिकति विचार पु¥याउनै पर्ने हुन्छ। तर पनि मलाई व्यक्तिगतरुपमा केही कुराहरु अप्ठ्यारो महसुस पनि भएको छ। मलाई लाग्छ यो परम्परा र संस्कृति पनि सदियौँ देखि अगाडि बढिरहेको र यहाँको समाजले स्विकारेको देखिएको हुँदा मलाई कुनै आश्चर्य लागेन। सम्भवतः यो व्रत पूजा चलाएको समयमा यस्तो खाले व्यवस्था जरुरी थियो कि ! फेरि यो व्रत अत्यन्त कठिन व्रत भएको हुँदा यस व्रतपूजामा केही कठिन र गाह्रो साह्रो नीति नियम बनेको पनि हुनसक्छ। तर मैले त्यस्तो विशेष केही कुरा लिखितरुपमा भने पाईन । मैले अध्ययन गरेको समय १९९९ मा र आज २०१४ मा हेर्दा केही फरक महसुस समेत गरेको छु।
स्वस्थानी व्रत पूजा सम्बन्धी अध्ययन गर्ने क्रममा आफूलाई कस्तो महसुस भयो ?
रमाइलो अनुभव भयो। तर व्रत पूजामा सरिक व्रतालुहरुलाई गाह्रो भएको देख्दा आफूलाई पनि यो व्रत वास्तवमै कठिन भएको महसुस भयो।
तपाइँको अध्ययनमा स्वस्थानी व्रत र माधवनारायण बीच तपाइँले के सामञ्जस्यता पाउनुभएको छ? अथवा कहाँनिर माधवनारायण र स्वस्थानी व्रत जोडिन गएको छ भनिदिनुस् न।
मैले विभिन्न कालखण्डका पुस्तकहरु अध्ययन गर्दा पनि माधवनारायण र स्वस्थानी व्रत पूजा जोडिएको पाइँन तर माधवनारायण र विष्णु भगवान एउटै भनिने भएकोले पार्वतीलाई विष्णु भगवानको मुखारविन्दबाट स्वस्थानी व्रत पूजा सम्बन्धी विधी बताइएको हुँदा मात्रै जोडिएको हो कि जस्तो लाग्छ। हुनतः माधवनारायण व्रत भनेर भक्तपुरमा पनि पाइँदो रहेछ। तर स्वस्थानी मन्दिर मैले अहिले साँखुमा पाएको छु। पहिल्यै थिएन। तर मैले सुने अनुसार काठमाडौँको मखन टोलमा स्वस्थानीको मन्दिर रहेको छ। हुनतः माधवनारायणको व्रत खोकनामा पनि मनाउने गरेको सुनेकी छु।
स्वस्थानीमा वर्णित लावण्य देश कहाँ होला जस्तो छ ?
ठ्याक्कै त्यस्तो भूगोलमा उल्लेख गरिएको मैले पाइनँ। तर सम्भवतः साँखु वा नगदेश हुन सक्ने सम्भावना मैले पाएको छु।
साँखु नगरी तपाइँलाई कस्तो लाग्यो ?
बडो सुन्दर नगरी हो साँखु। मलाई साँखुको हावापानी र यहाँका मानिसहरुको संस्कृति र परम्परामा रहेको अगाध विश्वास देख्दा अति रमाइलो र बिर्सनै नसकिने सहरको रुपमा मैले साँखुलाई पाएको छु । त्यसैले त म पटक पटक साँखु आईरहेको छु।
अन्त्यमा तपाइँले यस पत्रिकामार्फत् हाम्रा पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?
यस सुन्दर नगरी साँखु शंखरापुरका मानिसहरुलाई म धन्यवाद दिन चाहन्छु। उहाँहरुको सहयोगकै कारण मात्र मैले यहाँको समाज, रितिरिवाज, परम्परा र स्वस्थानी व्रत बारे जान्ने मौका पाएँ । नेपाल संस्कृति र परम्परामा धनी रहेछ त्यसमा पनि नेवारी परम्परा अति उच्च रहेको मैले पाएँ । अरुको विश्वास नतोड्ने नेवार परिवारको कल्चरले म प्रभावित भएँ।
(”स्वस्थानीका विषयमा यसअघि पनि अमेरिकी नागरिक लिन्डा इलटिसले विद्यावारिधि शोध गर्नुभएको थियो। इलटिसको शोधको विषय “श्री स्वस्थानी व्रत” मात्रै थियो भने जेस्सिकाको विषय “श्री स्वस्थानी व्रतकथा” रहेको छ । नेपाली नागरिकले भने अहिलेसम्म श्री स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध नगरेको सहप्राध्यापक काशीनाथ तमोटले बताए” , तमोट जेसिकालाई पिएचडीमा मार्गनिर्देशन गर्ने गुरु हुन। )
-पवनलाल श्रेष्ठको पोस्टबाट (२०७२/७३ सालको अन्तर्वार्ता)