कहिलेसम्म छाउपडीको प्रदेश ?
मदन भट्ट
कहिलेसम्म हलिया र खलियाको प्रदेश? कहिलेसम्म सिटामोलसम्म खान नपाएर मर्ने हुम्लीजुम्ली बाजुरेलीहरुको प्रदेश ? भारत र कालापहाडमा वेवारिसे मर्ने डोट्यालहरुको प्रदेश? (कुमाउ–गढवालीहरु सम्पुर्ण सुदूरपश्चिमेहरुलाई डोट्याल भनेर सम्बोधन गर्छन) कहिलेसम्म गरिब झन गरिब सुदूरपश्चिमेली भएर बाच्नुपर्ने हामीले?
किन यति भ्रष्ट अनि निर्लज्ज भएका हामीले चुनेर पठाएका नेताहरु ? यि सबैको दोषी को? जिम्मेवार को? हामी भन्छौ हाम्रा नेताहरु नालायक भए, हाम्रा सांसदहरु नालायक भए, हाम्रा मन्त्रीहरु, हाम्रा मेयरदेखि प्रशासक सबै नालायक भए। म प्रश्न गर्छु, तिनीलाई नालायक हुने छुट कसले दियो? तिनीलाइ भ्रष्टाचार गर्न उन्मुक्ती कसले दियो?
तिनीमा छाडा साँढे बनेर उत्पात मचाउने हिम्मत कसरी पैदा भयो? हाम्रो करमा पालिएका हामीले काम गर्न पठाएका हाम्रा कामदारहरु हाम्रै मालिक बनेर किन गर्जिदैछन, कसरी पलायो तिनीहरुमा यत्रो दुस्साहस? कसरी पलायो तिनीहरुमा श्री ८ महाराजको दम्भ। यसको जिम्मेवार को?
राजनीतिक दल की स्वयं हामी जनता? हामीले चुनेर पठाएका नेताहरु की स्वयं हामी? सत्य तितो हुन्छ, सक्नुहुन्छ तितो पचाउन? सक्नुहुन्छ भने सुन्नुस, दोषी अरु कोही होइन दोषी स्वयं हामी हौं। हाम्रो डर, कायरता अनि मौनता दोषी हो। हाम्रो भ्रष्टाचार र अन्यायलाइ सहने बानी दोषी हो, हामी निरिह हुनु दोषी हो!
किनभने हामी गलतलाई गलत भन्न डराउछौं, शासकहरुसंग प्रश्न गर्न डराउछौं। त्यो पदमा बसेको ठूलो मान्छे कुनै जङ्गबहादुर महामहिम होइन। हाम्रो सेवा गर्न हामीले पठाएको नौकर हो भन्ने बिर्सिन्छौ! अझै कति पर्खिने? अझै कति सहने? अब यो डरलाइ सधैको लागि मार्नुपर्छ अनि भ्रष्टहरुको छातिमा किल्ला ठोक्नुपर्छ!
धेरै ढिलो भइसक्यो, अब त चिच्याउनुपर्छ। अब त कराउनुपर्छ अब त बोल्नुपर्छ। हर एक घरबाट एक नागरिक जन्मिनुपर्छ। फेरी एकपटक भन्छु, हर एक घरमा एक नागरिक जन्मिनुपर्छ। कुनै पार्टीको झोले होइन एक नागरिक जन्मिनुपर्छ।
पछिल्लोसमय केही खुशी लागेको छ। केही आशा पलाएको छ, केही उम्लिदैछ यो छातीभित्र। फेरी सपना देख्न थालेका छन निराश भएर थाकिसकेका आँखाहरु। एक हुल युवाहरुभित्र विद्रोह जन्मिएको देखिरहेछु,। एक हुल युवाहरुभित्र क्रान्ति सल्बलाइरहेको देखीरहेछु।
सामाजीक संजालमा एक्काइसौ शताब्दीका जागरुक नागरिकहरुको आवाज गुञ्जिन सुरु भएको छ र त्यो आवाजले भ्रष्टहरुको निन्द्रा बिथोल्दैछ। हो अझै जन्मिनुपर्छ, सामाजिक सञ्जालमा आगो बाल्ने। विकृतीमाथि जाइलाग्ने निडर तेज खडकाहरु, गडसेरी माइलाहरु, धर्मराज जोशीहरु। रातदिन समाज परिवर्तनको लागि लडिरहेका चुन्नु केसीहरु जन्मिनुपर्छ। साइकलले सुदूर चिनाउन लागिपरेका भरत शाहीहरु जन्मिनुपर्छ। खेलकुदमा देश चिनाउने दीपक बिष्ट अनि गौरिका सिंह जन्मिनुपर्छ।
दृष्टि फाउन्डेसनकी कल्पना भट्ट जन्मिनुपर्छ, संसार भरी उज्यालो छर्दै गरेको डा विद्या पन्त जन्मिनुपर्छ। सुुन्दर सुदूरपश्चिम चिनाउने अरु धेरै गोपाल हमाल जस्ता अभियन्ताहरु जन्मिनुपर्छ। पर्यटनमा कृष्ण महरा, संजय चौधरी, नागरिक अगुवा प्रमोद पाठक, सयौंलाई रोजगारी दिने देबेन्द्र हमाल, मनोज अग्रवाल, महेश शाहहरु जन्मिनुपर्छ। शिक्षाको जगतमा हेमराज पन्त, धर्मदेव भट्टहरु जन्मिनुपर्छ। सेती प्रादेशिक अस्पतालमा अर्का हेमराज पाण्डेय जन्मिनुपर्छ।
सामाजिक सञ्जाललाइ माया प्रेमको मैदान होइन क्रान्तिको टुडिखेल बनाउनुपर्छ। म त चाहन्छु यो माटोमा अर्को जङ्गबहादुर या भिमदत्त पन्त जन्मिनुपर्छ। बोल्न जान्नेले बोल्नुपर्छ, लेख्न जान्नेले लेख्नुपर्छ। चिच्याउन जान्नेले चिच्याउनु पर्छ, भकुर्न जान्नेले भकुर्नुपर्छ। केही नजान्नेले पनि हात त उठाउनै पर्छ।
अब अति भइसक्यो थाकिसकिन नेपाल् आमा। बिरक्तीएकी छिन आफ्ना कपुत सन्तानहरु देखेर। अब हामी जाग्नुपर्छ, स्वतन्त्रता चाहियो, विकास चाहियो र रोजगारी चाहियो। कसैले दया गरेको भिख होइन हाम्रो अधिकार चाहियो। कसैले इज्जतसाथ दिनेवाला छैन्। किनकी लुटेर खान पल्किएका छन लुटेराहरु, म भन्छु खोसेर लिनुपर्छ आफ्नो अधिकार र स्वतन्त्रता।
स्वतन्त्रता चाहियो हामीलाई, नेपालबाट स्वतन्त्रता होइन भ्रष्टहरुबाट स्वतन्त्रता। भोकमरीबाट स्वतन्त्रता, गरिबीबाट स्वतन्त्रता, कालापहाडबाट स्वतन्त्रता, पैसामा कलम बेचेर जनतालाइ अध्यारोमा राख्ने कलंकहरुबाट स्वतन्त्रता। हल्ला बोल!