तटबन्ध निर्माण सकिएन, पिडितको पुर्नस्थापना हुन सकेन्
दार्चुला बाढीको पाँच वर्ष पूरा
दार्चुलामा महाकाली बाढीले वितण्डा पारेको पाँच वर्ष पूरा भएको छ । दार्चुलाको लागि कालो दिनको रुपमा रहेको यो दिनलाई अहिले पनि स्थानीय कालो दिनको रुपमा सम्झीन्छ । ०७० असार २ गते आएको महाकाली बाढीले दार्चुलाको वितण्डा मच्चाएको थियो । महाकाली नदीले कटान गरेपछि दार्चुला जिल्ला सदरमुकामको भौगोलिक रुप नै परिवर्तन भएको छ । पाँच वर्ष अघिको दार्चुला र हालको दार्चुलामा धेरै फरक छ । तत्कालीन अवस्थामा महाकाली नदीमा आएको बाढीले नेपाली भू—भाग कटान गरेपछि रिङनताल र गैल्फै बस्ती बगायो । एउटै लहरमा जोडिएको दार्चुला सदरमुकाम खलंगा अहिले स्वरुप परिवर्तन भएर तीन टुक्रामा विभाजित छ ।
महाकाली बाढीले झण्डै डेढ सय घर परिवार तथा दर्जन बढि सरकारी कार्यालय बगाएको थियो । जिल्ला बिपद् ब्यबस्थापन समितिको तथ्याङक अनुसार ११ ओटा सरकारी कार्यालय बगाउँदामात्रै २३ करोड ७९ लाख ३५ हजार २ सय ७८ रुपैया बराबरको क्षति भएको थियो । पिडितहरुले तत्कालीन अवस्थामा सरकारबाट ३५ हजार रुपैयाँ राहत बाहेक केही सुविधा पाएका छैनन् । सो बाढीमा परि २ जनाको ज्यान गयो । दार्चुलाका बाढि पीडितहरुले पुर्नस्थापनको माग राख्दै बाढी पीडित संघर्ष समिति गठन गरेर आवाज उठाएपनि हालसम्म सुनुवाई नभएको बाढी पीडित केशवबहादुर पालले बताए । तत्कालीन नेपाल सरकारको मन्त्री परिषदको निर्णयले बाढी पीडित व्यवसायीलाई सहुलियत रुपमा ऋण दिने, बाढी पीडितका छोराछोरीहरुलाई बैदेशिक रोजगारी तथा अन्य सरकारी सेवा सुविधामा सहुलियत दिने निर्णय गरेपनि कार्यान्वयन नभएको पाल बताउँछन् ।
महाकाली नगरपालिकाले महाकाली बाढी पीडितलाई परिचय वितरण गरेर विभिन्न सराकारी सेवा सूविधामा सहुलियत दिने गरी नीति तथा कार्यक्रम तय गरेको महाकाली नगरपालिकाले जनाएको छ । महाकाली नगरपालिकाले गत बैशाख २६ गते महाकाली बाढी पीडितलाई परिचय पत्र वितरण गर्ने निर्देशिका २०७४ पारित गरेको छ । महाकाली नगरपालिकाले ४ प्रकारमा बाढि पीडितको परिचय पत्र जारी गरेर नगरपालिकाको सेवा सुविधा दिने निर्देशिका पारित गरेको हो । नगरपालिकाले बाढि पीडितलाई सेवामा २५ देखि ७५ प्रतिशत सम्म छुट दिने गरी परिचयपत्र वितरण गरिने नगरपालिकाका प्रवक्ता पुष्करराज जोशीले बताए ।
पाँच वर्षमा तटबन्ध पनि पूरा भएन
महाकाली नदीमा बाढीपछि आर्थिक वर्ष ०७०÷०७१ बाट सुरु भएको नदी नियन्त्रण आयोजनाले पाँच वर्षमा पूरा हुन सकेन् । पाँच वर्षमा नमूना पक्की तडबन्ध निर्माण गरि सक्ने लक्ष्यकासाथ शुरु भएको तडबन्धको पाँच वर्षमा झण्डै ७५ प्रतिशत भौतिक प्रगति भएको नदी नियन्त्रण आयोजना जनाएको छ । नदी नियन्त्रण आयोजनालाई हरेक वर्ष बजेट अभावका कारण भौतिक प्रगति सोचे अनुसार पाँच वर्षमा गर्न नसकिएको नदी नियन्त्रण आयोजना प्रमुख सुशिलचन्द्र देवकोटाले बताए । खलंगाको नमस्कारदेखि बंगाबगड लास्कुगाडसम्मको साढे चार किलोमिटर क्षेत्रमा पक्की तडबन्ध निर्माण भईरहेको छ । महाकाली नदीको कटानलाई रोक्नका लागि बहुपयोगी रुपमा बन्न लागेको पक्की तटबन्ध अहिलेसम्मकै नमुना आयोजनाको रुपमा लिइएको छ । नमूना आयोजना भएकै कारण हरेकले यो योजनाको निरीक्षण अनुगमन गर्ने गरेका छन् ।
आयोजनाले पाँच वर्षमा कुल ३ अर्व ५ करोड ५७ लाख रुपैयाँ बजेट खर्च गरेर आयोजना सक्ने लक्ष्य रहेको थियो । निर्धारित समयमै आयोजना नसकिएपछि तीन वर्ष आयोजना थपिने भएको छ । विधिवत रुपमा म्याद थप नभएपनि बजेटमार्फत २०७७।०७८ सम्मको लागि कार्ययोजना निर्माण भइरहेको छ । हालसम्म आयोजनामा एक अर्ब ६२ करोड रुपँैया बढि खर्च भएको छ । शुरुको वर्षमा भारतीय नाकाबन्दी र समयमै सामान ढुवानी हुन नसक्नु प्रमुख कारण रहेपनि पछिल्लो समय बजेट अभावले काम हुन सकेको छैन् । चालू आर्थिक वर्षको लागि छुट्याइएको २९ करोड ५३ लाख रुपैयाँ सकिएपछि थप बजेट माग भएको थियो । आर्थिक वर्ष सकिन १ महिना बाकी रहँदा सम्म बजेट थपिएको छैन् । आयोजनाले ७।८ करोड रुपैयाँ खर्च गर्न सकिने जनाएको छ । बजेट थपको लागि पहल भइरहेको छ । आयोजनाले १५ प्याकेजमा निर्माण कार्य थालेको थियो । आयोजनाको म्याद तीन वर्ष थपिएपछि महाकाली नगरपालिकाको श्रीवगडदेखि लेकम गाउँपालिकाको लालीसम्म तटबन्ध निर्माणको काम गरिने आयोजना प्रमुख देवकोटा बताउँछन् ।
खोतिला पहिरो हटाउन भारतीय आनाकानी
दुई वर्षको सुख्खा खोतिला पहिरोका कारण दार्चुला सदरमुकाम जोखिममा छ । भारतीय पक्षले सुख्खायाममा पहिरो पन्छाउन आनाकानी गरेपछि सदरमुकाम खलंगा जोखिममा परेको हो । नेपाल भारत हुने सीमा बैठक तथा दुइ पक्षीय भेटघाटको क्रममा हरेक पटक नेपाली पक्षले खोतिला पहिरो हटाउन गरेको आग्रह भारतले मानेको छैन् । धारचुलाको माथि रहेको खोतिला पहिरोमा ठूला ठूला चट्टान अड्किएका छन् । गत वर्ष पहिरोकै कारण नेपालतिरको तडबन्ध भत्किएको थियो । यो पटक सुरुदेखि नै तटबन्धको व्यवस्थापन गर्न भनिए पनि भारतीयले अझै काम शुरु गरेन् । खोतिला पहिरोको विषयमा नेपाल भारतका अधिकारीबीच दुई पक्षीय बैठक बसेको छ । पिथौरागढ जिल्लाको धारचुला एसडिएम कार्यालयमा भएको बैठकमा खोतिला पहिरोको विषयमा सम्वेदनशिल हुनुपर्नेमा जोड दिईएको छ ।
बर्षा शुरु भइसकेको कारण पहिरो हटाउन सम्भव छैन, नेपालका तर्फबाट बैठकमा सहभागी महाकाली नदी नियन्त्रण आयोजना प्रमुख सुशिल चन्द्र देवकोटाले भने– अब पहिरो आएर नदी थुनिन नदिन तयारी गर्नुपर्यो । गत वर्ष भारतीय पक्षले पहिरो हटाउन भन्दै ४५ लाख भारतीय रुपैयाँमा टेण्डर खोलेपनि काम नगरी सम्पन्न भएको प्रतिवेदन पेस गरिएको छ । भारतीय पक्षले २२ हजार घनमिटर पहिरो पन्छ्याएको भन्दै प्रतिवेदन बुझाएको छ । नेपाली पक्षले पटक पटक खोतिला पहिरो नहटाईएको दावी गर्दै आएको छ । आज भएको वैठकमा समेत सोही कुरा दोहोर्यायो ।
बैठकले खोतिला पहिरो मनसुनको समयमा हटाउन नसकिने भन्दै बर्खायाममा पहिरोका कारण नदी थुनिन नदिन सतर्कता अपनाउनुपर्नेमा बैठकले जोड दिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए । वैठकले अल्पकालिन र दीर्घकालीन कार्य योजना बनाएर पहिरो व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भारतका सरोकारवाला निकाय, बसेर प्रतिवेदन बनाउन भनिएको छ, जोशीले भने । नेपालका तर्फबाट महाकाली नदी नियन्त्रण आयोजना र भारतीय सिचाई विभागले संयुक्त कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बैठकले अनौपचारिक सहमति गरेको छ । बैठकमा भारत पिथौरागढ उपजिल्ला मजिस्टेड तहशिल धारचुलाका उपजिल्ला अधिकारी राजकुमार पाण्डे र सिचाई विभागका प्रमुख सहभागी थिए ।