पानी भेटिदा शिवगंगा र चौमाला क्षेत्रमा रेलमार्ग बनाउन चुनौती
डीपीआर निर्माणको लागि अध्ययन
पूर्व-पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माणको क्रममा पश्चिम खण्डका केही नदीहरुमा बलियो पुल सहितका पूर्वाधार निर्माण गर्नुपर्ने देखिएको छ । कैलालीको शिवगंगा र चौमाला नदी क्षेत्रका डीपीआरका क्रममा ड्रिलिङ गर्दा माथिल्लो सतहमै पानीका ‘पकेट’ क्षेत्रहरु भेटिएका छन् । रेल्वे विभागका अनुसार अब ती नदी क्षेत्रमा अन्यत्रको भन्दा पुलसहितका मजबुत पूर्वाधार बनाउनुपर्ने हुन्छ । यो क्षेत्रमा जमिनमुनि ठूलो मात्रामा पानीको स्रोत भेटिएको छ । यसले निर्माणका लागि चुनौति थप्ने विभागका इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।
पूर्वी क्षेत्रमा अहिले झण्डै ३० कलिोमिटर खण्डमा निर्माणको काम भइरहँदा बुटवलबाट गड्डाचौकीसम्मको खण्डका लागि डीपीआर निर्माणको लागि अध्ययन भइरहेको छ । ४२१ किलोमिटरको बुटवल-लमही, लमही-कोहलपुर, कोहलपुर-सुक्खड, सुक्खड-गड्डाचौकी खण्डहरुमा चिनियाँ र कोरियन कम्पनीहरु संलग्न छन् । आगामी नोभेम्बरसम्म पश्चिमतर्फका खण्डको डीपीआर तयार गरिसक्ने योजना छ । यो खण्डको निर्माणको डिजाइन गर्दा नै यस्ता समस्या आएका क्षेत्रलाई विशेष ध्यानमा राखेर पछि समस्या नआउने गरी योजना बनाइने उपाध्यायले बताए ।
पूर्वी खण्डका यस्तो पानीको पकेट भएको क्षेत्र भेटिएको थिएन । यस्तो पकेटका कारण राजमार्गका पुलहरुमा पनि भासिने समस्या आउने गरेको छ । शिवगंगा र चौमाला नदीका पुल यस्तै समस्या कारण भासिएका थिए । पूर्वपश्चिम रेलमार्ग निर्माणका लागि अब पश्चिम खण्ड बाहेक सिमारा-भरतपुर-चोरमारा खण्डको डीपीआर मात्रै बनाउन बाँकी छ । अहिले पहिलो चरणमा महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीसम्मको खण्डमा ट्रयाक खोल्ने काम भइरहेको छ। सरकारले पूर्व-पश्चिम रेलमार्गको मूल रुटलाई ९ खण्डमा विभाजन गरेको छ । मूल खण्डहरु ९४५ किलोमिटरको भएपनि पोखरा-काठमाडौं, काठमाडौं-वीरगञ्जलगायत सहायक रेलमार्गलाई जोड्ने हो भने १ हजार ३ सय ७६ किलोमिटर हुनेछ ।
इनरुवादेखि काँकडभिट्टासम्मको खण्डको डीपीआर तयार भइसकेको छ । नवलपरासीको चोरमारादेखि बुटवलसम्मको डीपीआर पनि बनिसकेको छ । पूर्वपश्चिम रेलमार्गको निर्माणको प्रक्रिया सन् २००८ बाट नै सुरु भएको थियो । तर, रेलमार्ग निर्माणको कार्यले अझै गति लिन सकेको छैन ।