सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पुष्प व्यवसायी कृषक समूहको पहिलो साधारण सभा सम्पन्न

२०८३ साउन २०, ०३:२३ लक्ष्मण ढुङ्गाल

धनगढी: धनगढीका पुष्प व्यवसायी किसानहरूलाई संगठित गर्दै व्यावसायिक फूलखेतीको विस्तार, उत्पादन वृद्धि, बजारीकरण र रोजगारी सिर्जनालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित गठन गरिएको धनगढी पुष्प व्यवसायी कृषक समूह धनगढी-८ ले आफ्नो पहिलो साधारण सभा सम्पन्न गरेको छ।

कृषि ज्ञान केन्द्र कैलालीको सभाहलमा सम्पन्न प्रथम साधारण सभामा समूहले हालसम्म गरेका गतिविधि, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजना सार्वजनिक गर्दै पुष्प व्यवसायलाई थप विस्तार गर्न सरकारी निकायबाट निरन्तर सहयोग आवश्यक रहेको जनाएको छ।

बलदेवप्रसाद भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐर प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा कृषि ज्ञान केन्द्र कैलालीका वरिष्ठ कृषि प्रसार अधिकृत टेकबहादुर बिष्ट, धनगढी उपमहानगरपालिका–८ की वडा सदस्य पार्वती गिरी तथा धनगढीका विभिन्न वडाका पुष्प व्यवसायी किसानहरूको उल्लेख्य सहभागिता रहेको थियो।

समूहका अनुसार २०८१ साल मंसिर २ गते स्थापना भएको यस समूहमा हाल १६ जना सक्रिय सदस्य आबद्ध छन्। धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा रहेका पुष्प व्यवसायी किसानलाई एउटै संस्थागत संरचनामा आबद्ध गराई फूल, फूलका बिरुवा तथा मालाको उत्पादन र बजारीकरणलाई व्यवस्थित बनाउने उद्देश्यले समूह गठन गरिएको हो।

कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र कैलालीका वरिष्ठ कृषि प्रसार अधिकृत टेकबहादुर बिष्टले धनगढी उपमहानगरपालिकाले कृषकलाई रोजगारीसँग जोड्ने उद्देश्यले सञ्चालन गरेका कार्यक्रमहरूको प्रशंसा गरे। उनले पुष्प व्यवसायतर्फ किसान, विशेषगरी महिला कृषकको आकर्षण बढेको उल्लेख गर्दै उपमहानगरपालिका र कृषि ज्ञान केन्द्रको सहकार्यबाट कृषकहरूले अनुदान प्राप्त गरी प्रत्यक्ष रोजगारीसँग जोडिन सफल भएको बताए।

साधारण सभामा प्रस्तुत गतिविधि प्रतिवेदनअनुसार समूहका सदस्यहरूले उत्पादन गरेका फूल, बिरुवा तथा मालाहरू धनगढी उपमहानगरपालिका क्षेत्रसँगै कैलालीका विभिन्न स्थानीय तह तथा देशका अन्य शहरसम्म बिक्री वितरण हुँदै आएको जानकारी दिइयो।

समूहले स्थापना भएदेखि कृषि विकास निर्देशनालय दिपायल र धनगढी उपमहानगरपालिकाबाट तालिम, अनुदान तथा प्राविधिक सहयोग प्राप्त गर्दै आएको जनाएको छ। उक्त सहयोगबाट सिँचाइ व्यवस्थापन, व्यवसाय विस्तार, प्रचारप्रसार तथा आवश्यक सामग्री खरिदमा महत्वपूर्ण सहयोग पुगेको समूहको भनाइ छ।

कार्यक्रमका प्रमुख अतिथि तथा धनगढी–३ का वडाध्यक्ष राजबहादुर ऐरले पुष्प खेतीको विस्तारसँगै धनगढीलाई प्लास्टिकरहित नगर बनाउने अभियानमा समेत सकारात्मक योगदान पुगेको बताए। उनले कृषकको आवश्यकताअनुसार मल, बीउ तथा अन्य कृषि सामग्रीको व्यवस्थापनमा उपमहानगरपालिकाले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

साधारण सभामा समूहको आर्थिक प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो। प्रतिवेदनअनुसार कृषि विकास निर्देशनालय दिपायलबाट रु। २६ लाख ७३ हजार ६६६ रुपैयाँ ९ पैसा, धनगढी उपमहानगरपालिकाबाट रु। १२ लाख २३ हजार ३६५ रुपैयाँ ९ पैसा तथा सदस्यहरूको रु। २३ लाख ६८ हजार ८ सय ८७ रुपैयाँ ५० पैसा लगानीसहित विभिन्न स्रोतबाट रकम परिचालन गरिएको छ।

त्यस्तै, समूहको आन्तरिक आयतर्फ सदस्यहरूको प्रवेश शुल्क, नयाँ सदस्यबाट प्राप्त शुल्क तथा मासिक बचतमार्फत समेत रकम संकलन गरिएको उल्लेख गरिएको छ। आवश्यक प्रशासनिक तथा लेखापरीक्षण खर्च कटाएपछि हाल समूहको बैंक मौज्दात र नगद मौज्दात गरी करिब ५ लाख रुपैयाँभन्दा बढी रकम रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रमका सभाध्यक्ष बलदेवप्रसाद भट्टले पुष्प व्यवसायी किसानलाई समय–समयमा अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरे। उनले विगतमा भारतबाट ठूलो परिमाणमा आयात हुने फूल अहिले धनगढीमै उत्पादन भएर स्थानीय माग पूरा हुन थालेको बताउँदै यसले किसानको आय वृद्धि र आत्मनिर्भरतामा टेवा पुगेको धारणा राखे।

साधारण सभामा सहभागी किसानहरूले पुष्प खेतीको क्षेत्र विस्तार, आधुनिक प्रविधिको प्रयोग, सहज बजार व्यवस्थापन, उत्पादनको उचित मूल्य सुनिश्चितता तथा सरकारी निकायबाट थप अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा समूहका पदाधिकारीहरूले धनगढीलाई व्यावसायिक पुष्प उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास गर्न सामूहिक प्रयासलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन समूहका सचिव शंकरसिंह बिष्टले गरेका थिए।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस