डोटीमा १८ छाउगोठ भत्काइयो
डोटीमा एक हप्तादेखि स्थानीय जनप्रतिनिधि र प्रहरीको सक्रियतामा छाउगोठ भत्काउने अभियान चलिरहेको छ। परम्पराका रुपमा मानिँदै आएको छाउपडी प्रथाको अन्त्यका लागी छाउगोठ भत्काउने अभियानलाई सक्रिय रुपमा अगाडि बढाइएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाका अनुसार अभियान अन्तर्गत बडिकेदार गाउँपालिकामा रहेका १८ वटा छाउपडी गोठ भत्काइएको छ।
पालिका–३ सिदुरेपानीमा रहेका १० वटा छाउपडी गोठहरु स्थानीय आफैँले भत्काएको प्रहरीले जनाएको छ । गोठ भत्काउनको लागी विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको छ। उपरीक्षक देउवा भन्छन्, ‘प्रहरी आफैँ छाउपडी गोठ खोज्दै हिँडेको छ। गोठ देख्ने बित्तिकै भत्काउन आदेश दिएका छौँ। केही ठाउँमा स्थानीय आफैँले गोठ भत्काउन थालेका छन्।’ छाउगोठ भत्काउनका लागी सरकारी र गैरसरकारी संस्थाले समेत सहयोग गरिरहेका छन्।
अभियानलाई सफल पार्न पालिकासँगको समन्वयमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। उनले भने, ‘छाउगोठ कहाँ–कहाँ कति छन, सूचना लिएका छौँ। त्यही आधारमा गोठ भत्काउन प्रहरी टोली परिचालन गर्ने गरेका छौँ। अब, छाउगोठ बनाउनेलाई कडा कारवाही गर्छौँ।’
डोटीलाई आउँदो फागुन महिनाभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने योजना रहेको छ। जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा हालै सम्पन्न छाउपडी प्रथा उन्मूलन संयन्त्रको बैठकमा सहभागी जिल्लाका जनप्रतिनिधिले डोटीलाई फागुन मसान्तसम्म छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए।
अभियानलाई बेवास्ता गर्नेलाई पालिकाबाट दिइने सम्पूर्ण सेवा सुविधाबाट बञ्चित गर्नुका साथै कानुनी कारवाही गरिने जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए। उनले भने, ‘छाउपडी कुप्रथाले समग्र सुदूरपश्चिमकै शीर निर्हुँयाएको छ। त्यसैले शसक्त रुपमा छाउपडी गोठ भत्काउन लागी परेका हौँ।’
आफ्नो पालिकामा प्रहरीसँग सहकार्य गरेरै जनचेनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए। सुदूरपश्चिम प्रदेश सरकारले छाउपडीका नाममा मानिँदै आएको यस विकृतीको अन्त्यका लागी छाउगोठ भत्काउन सबै पालिकालाई पत्राचार गरिसकेको छ।डोटीमा कम्तीमा पनि एक सयको हाराहारीमा छाउगोठ रहेको अनुमान गरिएको छ।