सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मन्त्रालयमा एकपछि अर्को अनियमितता

२०७६ पुष २६, १२:१३ खबर संवाददाता

अत्याधुनिक एम्बुलेन्स खरिद प्रकरणमा मिलेमतोमा आर्थिक अनियमितता गरेको भन्दै विवादित बनेको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय अहिले चर्चामा छ। एम्बुलेन्स प्रकरण अगाडी अल्टासाउण्ड मेसिन खरिद, मुख्यमन्त्री कप, औषधी खरिद, विद्यालय भवन, कर्मचारी समायोजन लगायतका विषयमा समेत आर्थिक चलखेलकै कारण पटक पटक सामाजिक विकास मन्त्रालय विवादमा तानिएको छ।

सेती प्रादेशिक अस्पतालमा ११ औँ तहका मेडिकल सुपरिटेन्डेन्टलाई हटाएर निकटका भएकै कारण नवाँै तहका व्यक्तिलाई जिम्मेवारी दिनेगरी सचिव स्तरीय निर्णय गरेको विषयले पनि मन्त्रालय विवादित बनेको थियो। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र कृषि मन्त्रालयले पनि सम्भाव्यता अध्ययनको बजेटमा अनियमितता गरेको समाचार सावर्जनिक भएका थिए। 

भौतिक पूर्वाधार मन्त्रालयले त काम सम्पन्न नभएकै योजनामा भुक्तानी दिएको, पूरानो योजनालाई देखाएर भुक्तानी दिएका गुनासा आउने गरेका छन्। तैपनी सम्बन्धीत निकाय मौन छन्। तर प्रदेशको सार्वजनिक लेखा समितिले भने कतिपय विषयहरु छानविनकै क्रममा रहेको  दावी गरेको छ।

लेखा समितिकी सभापति नन्दा बमले प्राप्त उजुरीमाथि छानविन जारी राखिएको बताईन्। उनका अनुसार अहिले सम्म लेखा समितिले छानविन थालेका कुनैपनि विषयको अन्तिम टुङ्गो भने लागेको छैन्।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले समेत खबरदारी गर्न नसकेपछि अनियमितता मौलाएको आशंका गरिएको छ।

प्रतिपक्षी दलसंगको भागबण्डामै अनियमितता हुने भएकाले नेताहरु मौन बसेको आरोप पनि लाग्ने गरेको छ। तर प्रतिपक्षी दलले भने प्रदेशका मन्त्रालयमा भएका अनियमितता नियालि रहेकाले नसच्चीएमा कडा रुपमा जाने चेतावनी दिएको छ।

कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले सरकार नसच्चीए कडा रुपमा जाने उल्लेख गरे। उनले सुदूरपश्चिम सरकार भ्रष्टाचारमा लिप्त हुँदा विकास निर्माणका काम अलपत्र परेको गुनासो पनि गरे। हुन त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि मन्त्रालयहरुमा भएका अनियमितता बारेमा छानविन भईरहेको जनाएको छ।

तर प्रदेश सरकारले भने विधी प्रक्रिया मिचेर कायै सम्पादन गरिएको कुरालाई अस्वीकार गर्दै आएको छ। यता सत्तारुढ दल नेकपाले भने पार्टीले पनि सञ्चार माध्यममा आएका विषयलाई गम्भीर रुपमा अध्ययन गरिरहेको दावी गर्दै आएको छ।

कुनै पनि काम कानून विपरीत भएको भेटिए सम्बन्धीत पक्षलाई कारवाही गरिने नेकपाका प्रमुख सचेतक तारालामा तामाङले बताए। उनले पछिल्लो पटक सञ्चार माध्यममा सार्वजनिक भईरहेका विषय वस्तु गम्भीर रुपमा अध्ययन भईरहेको जनाए। 

कमेन्ट लोड गर्नुस