भ्रमण बर्ष : सुदूरपश्चिम घुम्नलाई निम्तो
सुदूरपश्चिममा पनि भ्रमण बर्ष आजदेखि सुरु भएको छ। परापूर्वकालदेखि पवित्र देव भूमिका रूपमा चिनिएको सुदूरपश्चिम प्रदेशमा पर्यटकको रोजाईमा पर्ने थुप्रै गन्तव्य रहेका छन्। यस क्षेत्रमा सात बहिनी भगवती९देवस्थल० पर्यटकका लागि मुख्य आकर्षणका रुपमा रहेका छन्। त्रिपुरासुन्दरी, मैलौली, निगलासैनी, उग्रातारा, शैलेश्वरी, सुर्मादेवी र बडिमालिका सात वटा बहिनी भगवती हुन्। यो प्रदेशमा वैद्यनाथ धाम, पाताल भूमेश्वर, मलिकार्जुन, परशुराम धाम र गोदावरीसमेत पाँच वटा धामसमेत धार्मिक पर्यटनका मुख्य गन्तव्य हुन्।
यसबाहेक धनगढीको १०८ फिट अग्लो शिवलिङ्गसहितको शिवपुरी धाम, कञ्चनपुरको महाकाली नदी माथि बनेको झोलुङ्गे पुल, कैलालीको पूर्वी सीमा नदी कर्णालीमा बनेको दक्षिण एशियाकै नमूनाको ‘स्टेट केबु ब्रिज’ पनि मानव निर्मित आकर्षक क्षेत्र हुन्। यो प्रदेशमा प्राकृतिकरूपमा मनोरम क्षेत्र खप्तड, रमारोशन, अपिनम्पा संरक्षण क्षेत्र, शुक्लाफाँटा, रामारोशन, बडिमालिका, घोडाघोडी क्षेत्रलगायतका मुख्य पर्यटकीय गन्तव्यस्थलको रुपमा रहेका छन्।
एकै ठाउँमा २२ पाटनको फाँट, त्रिवेणी दह, स्वामी खप्तड बाबाको आश्रम स्थल, खप्तड दह, नाग दुंगा दुंगेधारा रहेको पर्यटकीय एवं धार्मिक स्थल सुदूरपश्चिममा पर्ने भु–स्वर्गको उपमाले चिनिने ठाउँ हो खप्तड। खप्तड राष्ट्रिय निकुन्ज डोटी, अछाम, बाजुरा र बझाङको सिमानामा पर्दछ। यो सुदूरपश्चिमको मुख्य पर्यटकीय गन्तव्यमा पर्छ।
बडिमालिका पनि सुदूरपश्चिमको मुख्य पर्यटकीय क्षेत्रमा पर्छ। बडिमालिकामा प्रति बर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ। बाजुरामा पर्ने बडिमालिका धार्मिक मात्र नभएर पर्यटकिय हिसावले पनि महत्वपूर्ण मानिन्छ। नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन्। बडीमालीकाको सौन्दर्य भनेकै विशाल फाँटहरू हुन।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पनि सुदूरपश्चिमको मुख्य पर्यटकीय क्षेत्र हो। त्यहाँ घुम्न पुग्ने स्वदेशी, विदेशी पर्यटकको रोजाइमा घाँसेमैदान, सिमसार क्षेत्र, तालतलैया, पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, निलगाई, चितुवा, चितल, लगुना, बँदेल, हिसपिडखरायो र विभिन्न प्रजातिका चराहरु पर्ने गरेका छन्।
दोधारा चाँदनी पुल नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल हो।जुन कञ्चनपूर जिल्ला स्थित महाकाली नदीमा रहेको छ। बर्षेनी हजारौ स्थानिय र बाह्य पर्यटकहरु दोधारा चाँदनी पुलको अवलोकन गर्न पुग्ने गरेका छन।
कर्णाली नदीले पहाड छिचोलेर तराईमा निस्कने स्थान हो चिसापानी। पछिल्लो समय यो क्षेत्र पनि पर्यटकको रोजाईमा पर्दै आएको छ। पर्यटन दृष्टीकोणले चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिन सकिन्छ। यसका साथै चिसापानीलाई पिकनिक स्थलको रूपमा पनि लिइएको छ।
कैलालीकै घोडाघोडी ताल पनि पर्यटकहरुको रोजाईको क्षेत्र हो। किम्बदन्ती अनुसार प्राचिनकालमा यो स्थानमा एउटा सुन्दर गाँउ थियो। तर पछि एक रातभर परेको पानीले उक्त स्थानलाई तालमा परिणत गरायो। त्यसपछि त्यहाँका राजाले पहिला भाले र केही समय पछि पोथी घोडालाई त्यस क्षेत्रको अनुगमन गर्न पठाएछन्। तर दुबै घोडाहरू गन्तव्यमा नपुगि मरेछन्। त्यसपछी ती राजाले उक्त स्थानमा कुनै दैवीशक्ति भएको बिचार गरी त्यस स्थानमा मन्दिर निर्माण गर्न लगाए र तिनै मृत घोडाघोडीको सम्झनामा उक्त मन्दिर र ताललाई घोडाघोडी भन्न थालिएको हो।
सुुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको केन्द्रबिन्दुमा रहेको डडेल्धुरा सदरमुकामको अगरगढी नगरपालिका– ५ खलंगामा अवस्थित अमरगढी किल्लाको आफ्नै इतिहास रहेको छ। समुद्री सतहबाट किल्लाको उचाई लगभग ६ हजार ५ सय फिट रहेको छ। बडाकाजी अमरसिंह थापाद्धारा निर्मित यो किल्लामा ठूल–ठूला ढुङगा प्रयोग गरिएकाले यो किल्ला निकै कलात्मक छ। पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए। रणबहादुर शाहको शासनकालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सीमाना सुरुमा कुमाउ गढवालसम्म पुगेको थियो। एकीकरणको अभियान बेला विस १९४७ भदौ ३१ गते सेती नदीको नारीदाङ भन्ने स्थानमा गोरखाली फौजले डोटेली फौज बिच घमासान युद्ध भयो। डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रथम प्रशासक नियुक्त भएका थिए। तिनै अमरसिंह थापाले आफू नियुक्त भएपछी यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पश्चिम काकँडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निमार्ण गर्न लगाएका थिए।
सुदूरपश्चिमको अछाम जिल्लामा पार्ने ‘बाह्र बण्ड अठार खण्ड’ नामले चिनिने क्षेत्र हो रामारोशन।उच्च लेकाली भेगमा रहेको रामारोशन क्षेत्रमा पालुवासँगै अग्ला पहाडका चुचुरा र घना जंगलका बीचमा विभिन्न आकृतिका १२ वटा ताल र अनेकौं मोहडामा लम्पसार १८ वटा घाँसे मैदान देखिन पाईन्छ। रामारोशन क्षेत्रमा ९ प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे देखन पाईन्छ। हरियो र नीलो काइनेटिक पत्थर, गेरुलगायत बहुमूल्य धातु पनि पाइन्छन्। जिल्लाको उत्तर पूर्वी क्षेत्रमा पर्ने रामारोशनले कैलाश नदीलाई जन्म दिएको मानिन्छ।
साइपाल हिमाल गुराँस हिमशृङखला अन्तर्गत पर्ने दोस्रो अग्लो हिमाल हो। स्थानिय भाषामा यसलाई सैपाल पनि भन्ने गरिन्छ। यो गुराँस हिमालमा पर्ने अपी हिमाल पछी दोस्रो अग्लो हिमाल हो।
अपि नाम्पा संरक्षण क्षेत्र नेपालको सुदुरपश्चिमको दार्चुला जिल्लामा अवस्थित संरक्षण क्षेत्र हो। २०६७ साल असार २८ गते दार्चुला जिल्लाका उत्तरी भेगका तत्कालिन २१ गाविस समेटेर यस क्षेत्रको घोषणा गरिएको हो। अपि क्षेत्रमा हिउ चितुवा, रेड पाण्डा, मृग, रतुवा, घोरल, नाउर, झरल, कालो भालु, दुम्सी, थार लगायत बन्य जन्तु पनि पाउने गर्दछन्। यस क्षेत्रमा डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरा लगायत दुई सय भन्दा बढी प्रजातीका चरा पाइने गर्दछन्।
त्रिपुरा सुन्दरी मन्दिर बैतडी जिल्लाको दसरथचन्द नगरपालिकामा पर्दछ। यस मन्दिरलाई सात देवीहरूमा एक देवीको मन्दिर मानिन्छ। यो मन्दिरलाई माता भगवती मानेर पुजा आराधना गर्ने गरिन्छ।