मन्त्री शिवराज भट्ट सवार गाडी बैतडीमा बससँग ठोक्कियो
बैतडीः बैतडीमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र बस एकआपसमा ठोक्किएका छन्।
जिल्लाको मेलौली नगरपालिका–२ सलेनामा बिहीबार साँझ सवा ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरीका अनुसार महेन्द्रनगरबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुपप्र०२–००१ ख १५३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मन्त्री भट्ट सवार सुपप्र०१–००१ झ ४५२ नम्बरको गाडी ठोक्किएको हो।
दुर्घटनामा मन्त्री सवार गाडीको अगाडिको बम्परमा सामान्य क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।
घटनापछि अस्थायी प्रहरी पोस्ट सलेनाबाट प्रहरी हवलदार रमेश भट्टको नेतृत्वमा पुगेको टोलीले दुवै पक्षबीच छलफल गराएको थियो। छलफलपछि बस पक्षले गाडीको क्षति मर्मत गरिदिने सहमति भएको प्रहरीले जनाएको छ।