कञ्चनपुरको बेल्डाँडीका स्वास्थ्य संस्थामा समान्य रोगको औषधी पाउन मुस्कील
बेल्डाँडीका स्थानीय दीर्घराज ओझा, श्रीमतीको स्वास्थ्यमा समस्या देखिएपछि केही दिन पहिले गाउँपालिकाको वडा नम्बर २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पुगे। प्रभावकारी सेवा पाउने आशा बोकेर श्रीमतीलाई उपचारका लागि स्वास्थय चौकी पुगेका ओझाले स्तरीय सेवा त टाढाको कुरा समान्य पेट दुःखेको औषधी समेत पाएनन्।
४५ प्रकारका औषधी गाउँपालिका मातहतका स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट पाउने सुनेका ओझाले पेट दुःखेको औषधी समेत नपाएपछि बेलौरी नगरपालिकामा रहेको श्रीपुर स्वास्थ्य चौकी गई उपचार गराउनुपरेको सुनाए। समान्य औषधी समेत नपाएर उपचारका लागि अन्यत्र जाुनपर्ने केवल उनको मात्र समस्या होईन्।
बेल्डाँडी गाउँपालिकाका अन्य स्थानीयले पनि त्यस्तै समस्या खेप्नुपरेको छ। संविधानले नै स्थानीय पालिकाहरुलाई १५ शैयाको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी सञ्चालन र व्यवस्थापन गर्ने अधिकार प्रदान गरको छ।
अस्पतालबाट ७५ र स्वास्थ्य संस्थाबाट ४५ प्रकारका औषधी निःशुल्क वितरण गर्नुपर्ने प्रावधान भएपनि बेल्डाँडी गाउँपालिकाका स्वास्थ्य संस्थामा समान्य पेट दुःखेको औषधी समेत नपाउने समस्या रहेको हो। तर बेल्डाँडी गाउँपालिकाका स्वास्थ्य संयोजक माधवान्द भट्ट भने, औषधीको हाहाकार नभएपनि पूर्ण रुपमा आपूर्ती गर्न नसकिएको बताउँछन्।
उनले सबै प्रकारका औषधी वितरण गर्न नसकिएको जनाए। बेल्डाँडी गाउँपालिका भएकै स्वास्थ संस्थाहरुको उचित व्यवस्थापन गर्दै नागरिकलाई आधारभुत स्तरको स्वास्थ्य सेवा प्रदान गर्न असफल भएका छन्। जनप्रतिनिधीहरु स्थानीय नागरिकलाई सेवा दिनुको सट्टा आफ्नै सेवा सुविधामा लिप्त हुँदा समस्या भएको पनि स्थानीयले आरोप लगाएका छन्।
तर बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा भने १५ शैयाको अस्पताल स्थापना गर्दै स्तरीय सेवा दिने दावी गर्दै आएका छन्। बेल्डाँडीमा अहिले एक प्रार्थमिक स्वास्थ्य केन्द, स्वास्थ्य केन्द्र र एक सहरी स्वास्थ्य केन्द्र गरी तिन ओटा स्वास्थ्य संस्था रहेका छन्।
संघियता कार्यान्वयनमा आएसंगै गाउँमा पुगेको सिंहदरबार आधारभुत स्तरको सेवा प्रवाह गराउन पनि असफल देखिएका हुन्। विगतमा जिल्ला तथा क्षेत्र स्तरका निकायहरुले प्रवाह गर्ने सेवा स्थानीय तहहरुबाट प्रदान गर्ने व्यवस्था भएपछि सहज हुने विश्वास गरिएको थियो तर गाउँमा पुगेका सिंहदरबार भने आधारभुत स्तरको गतिलो सेवा प्रदान गर्न चुकेका हुन्।