सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि पेशाले धानेको जीवन

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७६ पुष ६, ०१:५६

बेथानचोक गाउँपालिका–२ मूलडाँडाका किसान हुद्धराज तिमल्सिनाले दूध बेचेर महिनामा रु २५÷२६ हजार आम्दानी गर्दै आएका छन्। दैनिक २० देखि २२ मानासम्म दूध बेच्ने गरेको उहाँले गाउँमा किसाने काम गरेर राम्रो आम्दानी गरेका हुन्। भैँसी पालेर दूध बेच्दै आउनुभएका उहाँले महिनाको घर खर्च र बस्तुभाउलाई दाना ख्वाउँदा लागेको खर्च कटाएर रु १४÷१५ हजार नियमित बचत हुने गरेको बताए। उनले भने, “कृषि पेशासँगै ज्याला गरेर पनि आम्दानी गर्दै आइरहेको छु।” चार जनाको परिवार पाल्नका लागि गाउँमा नै वस्तु पालेर राम्रो आम्दानी भइरहेको उनको भनाई छ।

गाउँका सबै किसानले गाईवस्तु नै पाल्ने गरेकाले दूध उत्पादनबाट राम्रो आम्दानी लिँदै आएको तिमल्सिनाले बताए। “गाउँलेहरुले प्रायःजसो गाई पाल्ने गरेका छन”, उनले भने, “डेरीमा भन्दा खुवा बनाउन दिने ठाउँमा बढी पैसा आउने भएकाले त्यहीँ लाने गरेका छौँ।” खुवा व्यवसाय गर्दै आउनुभएका अर्जुनप्रसाद तिमल्सिनाले भने गाउँमा किसानले भैँसीभन्दा पनि गाई पाल्न थालेकाले काममा थप भार परेको बताए। गाउँपालिका–२ ढुङ्खर्कका खुवा व्यवसायी तिमल्सिनाले वस्तुभाउ पालनको हिसाबले अलि सजिलो भएका कारण त्यसैतर्फ धेरैजसो किसान आकर्षित हुँदै गएको बताए। उनले सो ठाउँमा लालीगुराँस खुवा उद्योग सञ्चालन गर्दै आएका छन्।

भैँसीमा घिउको मात्रा बढी हुने गरेकाले घोट्न सजिलो हुने र गाईको कम हुने भएकाले घोट्नलाई बढी समय लाग्ने उनको भनाइ छ। “गाईको दूध खोटो जस्तो टाँसिने गरेका कारण घोट्न धेरै गाह्रो हुने र समय बढी लाग्नाका साथै उत्तिकै तताउनुपर्ने हुन्छ”, उनले भने, “गाईभन्दा भैँसीको दूध राम्रो भए पनि किसानले भैँसी पाल्न छोडेर गाईपालनतर्फ बढी केन्द्रित भएकाले व्यवसायमा थप जटिलता आएको छ।”

वस्तुभाउ पाल्ने किसानको सङ्ख्या नघटे पनि पेशामा सहजता ल्याउनका लागि गाईपालनतर्फ केन्द्रित भएको उनको भनाइ छ। उनका अनुसार नाला र पाँचखाल लगायत ठाउँमा भन्दा बेथानचोकमा दूध उत्पादन बढी हुने गरेको छ। विसं २०३६ देखि गाउँमा नै किसानले उत्पादन गरेको दूध सङ्कलन गरी खुवा घोट्ने कामलाई निरन्तरता दिँदै आएका कारण पेशाबाट आम्दानी सन्तोषजनक रहेको उनले बताए।

दैनिक करिब ४०० लिटर दूध घोट्ने गरेको बताउने खुवा व्यवसायी तिमल्सिनाले उद्योगमा दैनिक रु ३५ देखि ४० हजारसम्मको कारोवार हुने गरेको बताए। उनले भने, “स्थानीयस्तरमा खुवा खान रुचाउनेहरुले आएर किन्ने गरेको बाहेक सबै बजार काठमाडौँ हो।” पनौतीदेखि बनेपा र काठमाडौँको बजारमा सबैजसो ठाउँमा आफूले उत्पादन गरेको खुवा पुग्ने उनको भनाइ छ।

सो पेशा गरेरै माथि गाउँबाट तल बजारमा जग्गा किनेर व्यवसाय सञ्चालन गर्दै आएको पाँच÷छ वर्ष भएको उनले बताए। “पहिला किन्दाखेरी ऋण नै गरेर किने पनि अहिले सबै तिरिसक्यौँ”, उनले भने, “पेशाबाट सन्तुष्ट नै छु, १० जनाको परिवार पालेर कामदारलाई व्यवस्थापन गर्न सकिरहेको छु।” सो उद्योगबाट उत्पादन गरेको खुवा भोटाहिटी, गौशाला, चाबहिल जावलाखेल, लगनखेल, ठिमी, भक्तपुर, कोटेश्वरसम्म जाने गरेको उनको भनाइ छ।

उनको उद्योगमा काम गर्ने कामदार सानुमाया स्याङतानले पाँच वर्षदेखि काम गर्दै आएकी छन्। मासिक रु १७ हजारमा काम गर्दै आएकी उनले दूध भर्ने, आगो फुक्ने र दूध घोटेर खुवा बनाउने काम गर्नुपर्छ। त्यहाँबाट कमाएको पैसा गाउँमा समूहमा जम्मा गर्ने र घर खर्च चलाउने गरेको स्याङ्तानले बताए। रासस
 

कमेन्ट लोड गर्नुस