हिउँदमै बढ्दो कर्णाली नदी कटान, टीकापुरको बस्ती उच्च जोखिममा
टीकापुर: टीकापुर–५ स्थित टीकापुर बृहत् उद्यान कर्णाली नदी कटानको जोखिममा परेको छ । चैत महिनामा पनि कर्णाली नदीले उद्यानको पिकनिकस्थलतर्फ तीव्र कटान गरिरहेको छ ।
कर्णाली नदीले पानीको धार परिवर्तन गर्दा उद्यान क्षेत्रमा कटान बढिरहेको स्थानीयले बताएका छन् । “बर्खा लागेमा नदी उद्यान हुँदै बस्तीमा पस्ने जोखिम बढेकाले समयमै नियन्त्रणका लागि काम गर्नुपर्ने देखिएको छ”, स्थानीय सिंहराज बुढामगरले भने, “चैतमा यसरी कटान गरिरहेको नदीले बर्खा लागेमा बस्ती जोखिममा पार्छ । नदीले सिधैँ पार्क क्षेत्र कटान गरिरहेको छ । यही हिसाबले कटान भए बर्खामा पार्क हुँदै बस्ती सखाप हुन्छ ।”
पार्कको वनभोजस्थलदेखि पाँच सय मिटर उत्तरतर्फ कर्णाली नदीले बर्दियाको सिमानातर्फ ढुङ्गा, गिट्टी र बालुवा थुपारेर टापुजस्तै बनाएको छ । नदीको बहाव टीकापुरतर्फ बगिरहेको र यहाँ पक्की तटबन्धसमेत नभएकाले ती सामग्री सफाइ नगरे यस वर्षको मनसुनमा नदीले कटान गरी बस्तीमा पस्ने उच्च जोखिम देखिएको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले बताए । “पालिकाको आफ्नै स्रोत नभएकाले नदी सफाइ तथा पक्की तटबन्ध गर्न सक्ने अवस्था छैन । समस्या समाधान तथा बृहत् उद्यान र बस्ती जोगाउनका लागि अहिले नै काम गर्नुपर्ने देखिन्छ”, उनले भने, “आवश्यक व्यवस्था गरिदिन माग गर्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरी पठाएका छौँ ।”
नगरपालिका बर्सेनि कर्णाली नदी कटानको जोखिम झेल्दै आएको छ । कर्णालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले विभिन्न स्थानमा तटबन्ध निर्माण गरेको भए पनि यसको दिगोपनामा समस्या देखिएको छ ।
टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाका अनुसार वडा नं ५ को पार्क क्षेत्र, वडा नं ७ मा सत्ती कर्णाली सामुदायिक वन क्षेत्रलगायत स्थानमा बर्सेनि कटान हुँदै आएको छ । सिँचाइ आयोजनाले पहिले तारजालीको तटबन्ध बनाउँदै आए पनि दिगो नभएपछि अहिले ठूला ढुङ्गा (बिग बोल्डर) प्रयोग गरिरहेको छ । तर पछिल्ला दुई वर्षयता लगानी नभएकाले नदी नियन्त्रणमा समस्या भइरहेको छ ।
सिँचाइ आयोजनाका सूचना अधिकारी रामकृष्ण घोरासैनीले विगतमा तारजालीबाट गरिने तटबन्ध दिगो नभएपछि यसको स्वरूप परिवर्तन गरिएको बताए । “विगतमा कर्णाली नदीमा दर्जनौँ स्थानमा तटबन्धको काम भएको छ । विश्व बैंकको सहयोग नभएपछि तेस्रो चरणमा खासै काम भएको छैन, इन्टेकसहित तीन स्थानमा तटबन्ध निर्माण भइरहेको छ”, उनले भने, “आयोजनासँग बजेट पनि सीमित छ । पुराना ठेक्का समयमै सम्पन्न नभएका स्थानमा अहिले काम भइरहेको छ ।”
सिँचाइ आयोजनाले कर्णाली नदीको चिसापानी क्षेत्रमा इन्टेक र मुख्य नहर निर्माण, फिडर नहर, जलविद्युत्, डिभिजन बक्स र आउटलेट सुधार, सिञ्चित क्षेत्र संरक्षण, सामाजिक सुरक्षा तथा वातावरण संरक्षणलगायत क्षेत्रमा काम गरिसकेको जनाएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले स्थानीय विपद् व्यवस्थापन समितिबाट प्रस्ताव आएपछि जिल्ला स्तरमा छलफल गरी आवश्यक पहल गरिने बताए । “हामी सबै निकायसँग समन्वय गरेर उचित निर्णय लिन्छौँ र जनधनको क्षति हुन नदिन पहल गर्छौँ”, उनले भने, “कैलालीका नदीमा भइरहेका तटबन्धको दिगोपनाका लागि पनि संवेदनशील हुन आग्रह गरेका छौँ ।”
कर्णाली नदी कैलाली र बर्दियाको सीमामा पर्ने भएकाले अन्तरजिल्ला समन्वयमार्फत विपद् व्यवस्थापनका काम अघि बढाइने उनले बताए ।