सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीको ‘अप्रिल फुल’ अभियान: मजाकसँगै साइबर सचेतना सन्देश

२०८२ चैत्र १८, ०२:०६ खबर संवाददाता

काठमाडौँः आज अप्रिल १ तारिख अर्थात् ‘अप्रिल फुल’ मनाउने दिन। यस दिन साथीभाइबीच झुक्याएर रमाइलो गर्ने परम्परा रहँदै आएको छ।

यसै अवसरमा नेपाल प्रहरीले पनि ‘अप्रिल फुल’ मनाउने शैलीमा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ। प्रहरीले सामाजिक सञ्जालमार्फत एक पोस्ट सार्वजनिक गर्दै ‘तपाईंविरुद्ध कुनै उजुरी परेको छ कि छैन भनेर सुनिश्चित गर्न क्यूआर कोड स्क्यान गर्नुहोस्’ भन्ने सन्देश दिएको थियो।

तर उक्त क्यूआर कोड स्क्यान गर्दा ‘अप्रिल फुल’ भन्ने सन्देश देखिने व्यवस्था गरिएको थियो। सो सन्देशमार्फत प्रहरीले साइबर सुरक्षासम्बन्धी महत्वपूर्ण चेतावनी पनि दिएको छ।

प्रहरीले क्यूआर कोडमार्फत ठगी (स्क्याम) हुन सक्ने जोखिमबारे सचेत गराउँदै अज्ञात स्रोत वा नचिनेका व्यक्तिबाट प्राप्त क्यूआर कोड स्क्यान नगर्न आग्रह गरेको छ। साथै, स्क्यान गर्नु अघि अनिवार्य रूपमा सत्यापन गर्न र परिवारका सदस्यलाई समेत यसबारे जानकारी दिन अनुरोध गरेको छ।

प्रहरीको यो अभियानले मनोरञ्जनसँगै डिजिटल सुरक्षाबारे जनचेतना फैलाउने उद्देश्य राखेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस