सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलात्कारको आरोपमा पक्राउ परेको सिद्धबाबालाई तेस्रो पटक तीन दिन म्याद थप

। फोटो स्रोत ।
२०७६ मंसिर २७, ०२:३७ खबर संवाददाता

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले तीन दिनको म्याद थप गरेको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्ला अदालत सुनसरी माफर्त तेस्रो पटक तीन दिनको म्याद थप गरेको हो। प्रहरीले बलात्कार प्रकरणमा संकलन भएका प्रमाणहरु जाँचका लागि काठमाडौं पठाएकाले थप अनुसन्धानका लागि १० दिन म्याद थपका लागि अदालतसँग अनुमति मागेको थियो। शुक्रबार जिल्ला अदालत सुनसरीले तीन दिनको म्याद थप गरेको सुनसरीका डिएसपी विनोद शर्माले बताए।

म्याद थप पछि गिरीलाई पुनस् अस्पताल नै लगिएको छ। मुटुको समस्याका कारण उपचार गराइरहेका गिरीलाई अदालतले अस्पतालमै राखेर बयान लिने आदेश दिएका कारण विराट नर्सिङहोम नै पठाइएको डिएसपी शर्माले जानकारी दिए। गिरी विराट नर्सिङहोमको ९ नम्बर डिलक्स रुपममा छन्। सुनसरी प्रहरीले मंसिर १६ गते चार दिन र मंसिर २० गते बलात्कार मुद्धामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको थियो।

बलात्कार आरोप मुद्दामा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने प्रावधान छ। महिला अनुयायीले कात्तिक ४ गते आफूलाई बलात्कार गरेको भन्दै सिद्धबाबाविरुद्ध किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले उनलाई १६ मंसिर बिहान पक्राउ गरेको थियो। छाती, मुटु तथा प्रोस्टेट तथा मिर्गौलामा पत्थरीको समस्या भएको भन्दै अस्पतालको ९ नम्बर क्याबिनमा भर्ना भएका सिद्धबाबाले अस्पतालको क्याबिन बेडलाई हिरासत कक्ष बनाएका छन्। 
 

कमेन्ट लोड गर्नुस