यस वर्षको मनसुनमा कञ्चनपुरमा एक अर्ब ६७ करोडको क्षति, चार जनाको मृत्यु
कञ्चनपुरः असार तेस्रो साताको बाढीबाट जिल्लामा कञ्चनपुरमा एक अर्ब ५७ करोडको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो।
कृषि क्षेत्रमा ६५ करोड ४० लाख ८३ हजार पाँच सय ४६ बराबरको क्षति भएको छ भने महाकाली सिँचाइ व्यवस्थापन कार्यालयमा २९ करोड २२ लाख, महाकाली सिँचाइ तेस्रो चरण कार्यालयमा दुई करोड ३२ लाख ५२ हजार ९ सय, सडक डिभिजन कार्यालयमा तीन करोड ८८ लाख ७० हजार, पूर्वाधार विकास कार्यालयतर्फ सात करोड १९ लाख ७५ हजार बराबरको क्षति भएको छ।
यस वर्षको मनसुनमा सबैभन्दा बढी क्षति कञ्चनपुरमा भएको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा २२ लाख, जनताको तटबन्ध कार्यालयको ४७ करोड ४२ लाख ८३ हजार ९ सय ८३, घरेलु तथा साना उद्योग कार्यालयको १७ लाख ६५ हजार, कृषि ज्ञान केन्द्रको ६५ करोड ४० लाख ८३ हजार पाँच सय ४६ र पशुधनमा एक करोड २३ लाख ९१ हजार गरी जम्मा एक अर्ब ६७ करोड १० लाख २१ हजार चार सय २९ बराबरकोे क्षति भएको छ।
बाढीका कारण कञ्चनपुरमा चारजनाको मृत्यु भएको थियो। असार २३ र २४ गते कञ्चनपुरमा भीषण वर्षा भएको थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि देशमा त्यति धेरै पानी कहिल्यै परेको थिएन। भारी वर्षाबारे स्थलगत अध्ययन गर्न कञ्चनपुर आएको मौसमविद्को टोलीले पनि कञ्चनपुरमा ‘क्लाउड ब्रस्ट’का कारण मुसलधारे वर्षा भएको निष्कर्ष निकालेको थियो।
जिल्लाको दोधारा–चाँदनी क्षेत्रमा रेकर्ड ब्रेक वर्षा हुँदा बाढीले उग्ररूप लिएको थियो। २४ घण्टामै ६२४ मिलिमिटर वर्षा हुँदा महाकालीसहितका नदीको बाढीले २७ घर बगाएको थियो भने सयौँ बिघाको धानबाली नष्ट गरेको थियो। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार वर्षापछिको बाढीका कारण कञ्चनपुरमा एक अर्ब ५७ करोडको त भौतिक क्षति मात्र भएको हो। बाढीले घर बगेका २७ परिवारलाई अस्थायी आवास निर्माण गर्न अनुदान दिइएको छ। तर, कृषिबाली र अन्य क्षतिको हकमा भने राहत दिने काम भएको छैन।