धनगढीमा मापदण्ड विपरीत सडक कालोपत्रे
अहिले धनगढी उप–महानगरपालिका वडा नम्बर ६ को भैरवबाबा स्कुलदेखि वासुदेवी माध्यमिक विद्यालय सम्मको सडक कालोपत्रे भईरहेको छ। उप–महानगरपालिकाकै गत आर्थिक वर्षको ४८ लाख बजेटमा नौँ सय ६० मिटर सडक कालोपत्रे गर्ने योजना रहेको थियो। तर सोही क्षेत्रका स्थानीयले भने मापदण्ड विपरीत सडक कलोपत्रे भईरहेको आरोप लगाएका छन्।
आफुहरुले पटक–पटक आग्रह गर्दा पनि वेवास्ता गरेको गुनासो स्थानीय भीम सार्कीले गरे। ‘सडकको वेसनै मिलेको छैन्, त्यसैमाथी कालोपत्रे भईरहेको छ।’ सार्कीले भने, ‘मापदण्ड ‘विपरित कालोपत्रे गरिएको सडक दीर्घकालिन प्रायोजनाको लागि उपयुक्त हुदैन्।’
सडक कालोपत्रेको मापदण्डको विषयलाई लिएर उपभोक्ता समिति, प्राविधीक तथा उप–महानगरपालिकाका जनप्रतिनिधिलाई जानकारी गराउँदा पनि कसैले ध्यान नदिएको गुनासो स्थानीयको छ। कालोपत्रे गर्नुभन्दा अगाडी वेस र सव वेसको काम गर्न पनि कमसल सामाग्री प्रयोग भईरहेको तर पनि उप–महानगरपालिका मुकदर्शक बनेको आरोप स्थानीयको छ।
निर्माण अवधी कात्र्तिक ३० गते सकिएको उक्त सडकको काम अहिले पनि जारी रहेको उपभोक्ता समितिका सचिव गोरख सार्कीले बताए। मापदण्ड विपरित सडक कालोपत्रे भईरहेको गुनासो गरिएपनि स्टमेट अनुसार नै काम भईरहेको दावी उनको छ।
सार्वजनिक खरिद ऐन अनुसार कालोपत्रेका योजना उपभोक्ता समितिलाई दिन नमिल्ने भए पनि धनगढी उप–महानगरपालिकाकाले कानून मिच्दै कालोपत्रेका योजना उपभोक्तालाई दिईरहेको छ। त्यसमा पनि गुणस्तरहिन काम भईरहेको हँुदा दीर्घकालीन हुनेमा आशंका गरिएको छ।
विभिन्न कारण कालोपत्रे गर्न ढिलाई भएका कारण बेस विग्रिदै गएको उक्त सडकको प्राविधिक पक्ष हेर्दै आएका धनगढी उप–महानगरपालिकाका निरिक्षक भरत शाहीले बताए। सडक कालोपत्रेको चरणमा पुगेका वेला उप–महानगरपालिको इन्जिनियर सहितको टोलीले अनुगमन गर्दै मापदण्ड पुरा नभएको निष्कर्ष निकालेको थियो। तर त्यसपछि आर्थीक चलखेल भएका कारण उप–महानगरपालिकाले वेवास्ता गरेको आरोप स्थानीयको रहेको छ।