सुदूर नेपाललाई विश्वसँग जोड्दै

नाम मात्रै फेरियो, सेवा खस्कियो

२०७६ कार्तिक २९, ०६:४२ नवराज पनेरु

सुदूरपश्चिमका पहाडी ७ जिल्लाका नागरिकलाई स्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले डडेल्धुरा जिल्लामा रहेको तत्कालिन टिम अस्पताललाई २०७० सालमा उपक्षेत्रीय अस्पताल घोषणा गरियो र नाम लेखियो उपक्षेत्रीय अस्पताल डडेल्धुरा। त्योसंगै मानव विकास तथा सामुदायिक सेवाबाट सञ्चालन हुँदै आएको टिम अस्पताल बन्द भयो र विदेशी विशेषज्ञ चिकित्सकहरु आफ्नो देश फिर्ता भए।

टिम अस्पताल डडेल्धुरा २०२२ सालमा स्थापना भएको थियो। उपक्षेत्रीय अस्पतालबाट स्वदेशी डाक्टरबाटै विशेषज्ञ सेवा पाउने आशामा रहेका सुदूरपश्चिमको पहाडी जिल्लाका बासिन्दाले ५ बर्ष सम्म त्यो सेवा पाउन सकेनन् र स्वास्थ्य सेवाका लागि परनिर्भर हुनुपर्ने बाध्यता बढ्दै गयो।

‘उपक्षेत्रीय अस्पताल घोषणा भएपछि यहाँका बासिन्दामा गुणस्तरीय स्वास्थ्य सेवा पाउने आशा पलाएको थियो,’ डडेल्धुरा नागरिक समाजका संयोजक रमेश जोशीले भने, ‘तर त्यो सेवा भने कहिल्यै पाउन सकिएन, सेवा सुधार हुनुको सट्टा झनझन खस्किदै गएको छ।’

उनका अनुसार कागजमा सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो डडेल्धुरा अस्पतालको सेवा सुधार नहँुदा पहाडी जिल्लाबाट स्वास्थ्य सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यता बढ्दै गएको छ। पछिल्लो पटक विशिष्ट सेवा सहितको अस्पतालमा स्तरबृद्धी भएपनि कागजमै सिमित भएको उनले बताए।

उपक्षेत्रीय अस्पताल स्पथापना भएपछि ३७ जना चिकित्सकको दरबन्दी स्वीकृत भएको थियो। तर कहिल्यै आवश्यकता अनुसारका चिकित्सक अस्पतालले पाउन नसक्दा अस्पतालको स्तरोन्नती नाममै सिमित भएको अस्पतालका मेसु डाक्टर जितेन्द्र कँडेलले बताए। 

‘२०७५ साल फागुन ३ गतेको मन्त्रिपरिषद्को बैठकले डडेल्धुरास्थित उपक्षेत्रीय अस्ताललाई विशेषज्ञ सहितको सुविधा प्रदान गर्नेगरी स्तरोन्नति गर्ने निर्णय गरेको थियो र उक्त निर्णय भएपछि नाम परिवर्तन गर्न निर्देशन भयो। सोही निर्देशन अनुसार नाम फेरेका छौँ। सेवा भने उपक्षेत्रीयको भन्दा पनि खस्किएको छ।’ डाक्टर कँडेलले भने।

उनले अस्पतालको शल्यक्रिया सेवा सबैभन्दा बढि प्रभावित भएको बताए। अस्पतालको स्तरोन्नति भएपछि सेवा सुधार हुनुको सट्टा झनझन सेवा खस्किदै गएकोछ। अहिले पहाडबाट प्रसुती सेवाका लागि पनि धनगढी पुग्नुपर्ने बाध्यता बनेको छ। 

अस्पताल प्रशासनका अनुसार निर्णय भएको ९ महिना वितिसक्दा समेत अहिले सम्म दरबन्दी स्वीकृत समेत भएको छैन् भने विगतमा उपक्षेत्रीय अस्पताल हुँदा कार्यरत चिकित्सकहरु पनि समायोजनपछि अन्यत्रै गएका छन्। अहिले २ जना चिकित्सकको भरमा अस्पताल सञ्चालन भईरहेको छ। 

स्तरोन्नति भएपछि ५ सय शैयाको सेवासुविधा प्राप्त हुने दावी गरिएको थियो। तर त्यो सवै कागजमै सिमित भएको छ। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस