सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल भ्रमण गर्न आह्वान

२०७६ कार्तिक १६, ०५:२३ खबर संवाददाता

राजधानी नेपित भ्रमणका अवसरमा नेपाली प्रतिनिधिमण्डलले पुराना पत्थर तथा रत्नहरूको सङ्ग्रहालय तथा त्यहाँको मौलिक कठपुतली नाचसहितको सांस्कृतिक प्रस्तुति अवलोकन गरेको थियो। त्यस्तै पिन ओ लिन शहरमा दुर्गा मन्दिर र नेशनल कान्दगी पार्क(वनस्पति उद्यान) भ्रमण गरिएको थियो जसमा नेपालको पुतलीसहित रहेको भनिएको आकर्षक पुतली सङ्ग्रहालय पनि रहेको छ।  प्रवासी नेपालीहरूद्वारा सञ्चालित दुर्गा मन्दिर नेपालीहरूले सन् १९६१ (विसं २०१८तिर) देखि सञ्चालन गरेका हुन्।

मन्दिरमा राष्ट्रपतिलाई नेपाली मूलका म्यान्माली पुजारी जगन्नाथ गौतम र खडानन्द खनालले स्वागत गरी पूजाआजा गराएको थियो। उनले त्यहाँस्थित पञ्चमुखी शिवको पनि दर्शन गरी पूजाआजा गरेको थियो। सो मन्दिरमा रहेको शिवको मूर्ति तत्कालीन राजा महेन्द्र र पशुपतिनाथको  प्रतिमा राजा वीरेन्द्रले आआफ्ना म्यान्मा भ्रमणका क्रममा प्रदान गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष  बाबुराम पाण्डेले बताए।

नेपाली मूलका म्यान्मालीको संस्था अखिल म्यान्मादेशीय गोर्खा  हिन्दू धार्मिक सङ्घले पिन ऊ लिन शहरमा राष्ट्रपति भण्डारी र प्रतिनिधिमण्डललाई स्वागत गरेको थियो। सो अवसरमा राष्ट्रपति भण्डारीले नेपाल भ्रमण  वर्ष २०२० मा नेपाल भ्रमण  गर्न  र भ्रमण वर्षबारे म्यान्मामा व्यापक प्रचारप्रसार गर्न म्यान्मामा रहेका नेपाली मूलका बर्मेलीलाई आग्रह गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनी र सर्वोच्च शिखर सगरमाथाको प्रचारप्रसार गर्न आह्वान गरेका थिए। 

म्यान्मामा रहेका प्रवासी नेपालीले नेपाली भाषा, संस्कृति र वेशभूषाको संरक्षण गरेकामा र म्यान्मासँगको नेपालको सम्बन्धलाई प्रगाढ बनाउन योगदान गरेकामा प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले म्यान्मासँग नेपालको व्यापार, लगानी, पर्यटन र संस्कृति विषयको प्रवद्र्धन गर्न म्यान्माली नेपालीभाषीलाई आग्रह गरे।

उनले आफ्ना पूर्वज जस्तै उद्यमी र परिश्रमी बन्न उनीहरूलाई आग्रह गर्दै भनेका थिए, “दुई देशबीच सम्बन्ध प्रगाढ बनाउनका लागि भूमिका खेल्नुहोस् , नेपाललाई मनमा राखी नेपाली भाषा  र संस्कृतिको संरक्षण गर्नुहोेस्। ” सो अवसरमा म्यान्माका लागि नेपाली राजदूत भीमकृष्ण उदासले भारतीय नेपालीपछि म्यान्माली नेपालीले नेपाली भाषा, साहित्य र संस्कृतिको बढी संरक्षण गरेको बताए। 

उनले विश्वयुद्धमा करीब तीन सय नेपालीले म्यान्मामा वीरत्व प्राप्त गरेको र शुभबहादुर राईलगायतले बेलायतको भिसीसरह पदक प्राप्त  गरेको बताउँदै शहादतप्राप्त नेपालीको सम्मानमा राजदूतावासको आयोजनामा वर्षेनी श्रद्धाञ्जलि कार्यक्रम राख्ने गरिएको जानकारी दिएका थिए।

धार्मिक सङ्घका अध्यक्ष सागर घिमिरेले करीब डेढ लाख नेपालीभाषीले म्यान्मामा आनन्द र शान्तिपूर्वक जीवनयापन गरिरहेको बताउँदै आफूहरूले २५० पाठशाला चलाई आफ्ना छोराछोरीलाई नेपाली भाषा साहित्यबारे अध्यापन गरिरहेको जानकारी दिएका थिए।

उनले सन् २०२०मा नेपाल भ्रमण वर्ष सफल पार्न सङ्घले नेपाल भ्रमण अभियान चलाउने भएको पनि बताए। सङ्घका संरक्षक मणिलाल पौडेलले राष्ट्रपतिको म्यान्मा भ्रमणका क्रममा नेपालीभाषीहरूसँग भएको भेटले आफूहरू निकै भाग्यमानी भएको बताउँदै नेपालीहरू सधैँ मिलेर बसून् भन्ने कामना गरे। 

उनले भने, “हामीहरूलाई आज नेपालमाताको दर्शन गरेसरह नै भएको छ, हामी नेपाल आमाको काखमा नै छौँ भन्ने अनुभूति भएको छ।” उनले नेपाल भ्रमण गर्दा म्यान्मालीलाई  प्रवेशाज्ञा निः शुल्क  गरियोस् भन्ने माग पनि गरे।  पिन ऊ लिनमा करीब १५ हजार नेपाली रुवी (मणि), दुग्ध, खनिज, फोटो तथा खेतीबारी आदि व्यवसाय गरेर बसेका छन्। यहाँ नेपालीहरूले दशैँ, तिहार, तीज आदि चाडपर्व मनाउने गरेका छन्। 

प्रतिनिधिमण्डलले म्यान्माको प्रसिद्ध बगान शहर र त्यहाँको आनन्द टेम्पल तथा इँटाबाट निर्मित थुप्रै चैत्यको पनि अवलोकन गरेको थियो।  माण्डले क्षेत्रमा रहेको १०४ वर्ग किमीमा फैलिएको प्राचीन बगान शहरमा थुप्र्रै बौद्ध मन्दिर, गुम्बा तथा विहार छन् जुन शहर  युनेस्कोको विश्व सम्पदा सूचीमा राखिएको छ। नवौँदेखि १३ औँ शताब्दीसम्म यो बगान अधिराज्यको राजधानी रहेको थियो।

बगानले नै विभिन्न इलाकाहरू जिती पछि आधुनिक म्यान्मा निर्माण गरेको हो। हरियालीपूर्ण बगानमा ११ औँदेखि १३ औँ शताब्दीसम्म चार हजार ४४६ बौद्ध मन्दिर, चैत्य र गुम्बा बनेकामा  तीन हजार ८२२ अझै रहेका छन्। धेरै पटकको भूकम्पबाट क्षतिग्रस्त भए पनि समय समयमा पुनःनिर्माण भएका छन् र ती अन्तरराष्ट्रिय पर्यटकको आकर्षक बनेका छन्। त्यहाँको आनन्द मन्दिरमा बुद्धका विशाल चार धातुका मूर्ति राखिएको छ जसको पुनःनिर्माण चीनबाट भइरहेको जनाइएको छ।

म्यान्माका राष्ट्रपति मिन्तले असोज ३० गते नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्नुभएको राजकीय भोजमा पनि बगान र यङ्गोनको श्वेदागोन चैत्यको भ्रमणबाट नेपाल  र म्यान्माका बौद्ध  तीर्थस्थललाई जोड्न नयाँ विचार आउन सक्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिनिधिमण्डलले यङ्गोनास्थित बोग्योक आङ सन सङ्ग्रहालयको अवलोकन गरेको थियो। म्यान्माका राजनीतिज्ञ तथा क्रान्तिकारी नेता सनको घरमा रहेको सङ्ग्रहालयमा उनका शयन कक्ष, भोजन कक्ष, अध्यययन कक्ष तथा अन्य तस्वीरहरू राखिएका छन्। आधुनिक म्यान्माका राष्ट्रपिता तथा स्वतन्त्रता सेनानी सन म्यान्माका वर्तमान स्टेट काउन्सिलर आङ सान सु चीका पिता छन्।  

भ्रमणदलले धम्मरक्षित हिलस्थित महाविजय चैत्यको पनि अवलोकन गरेको थियो। सबै जनताको चन्दाबाट निर्मित चैत्यमा गौतमबुद्धका आठ मुद्राका मूर्ति छन् जहाँ तत्कालीन राजा वीरेन्द्रले आफ्नो विसं २०३६ को म्यान्मा भ्रमणका क्रममा प्रदान गरेको सानो बुद्धको मूर्ति (नगसिभारा पतपतिमा) पनि राखिएको छ। रासस
 

कमेन्ट लोड गर्नुस